वीरगञ्ज बालसुधार गृहको तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि कैदीबन्दी आक्रोशित

सेयर गर्नुहोस

पर्सा : वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ।

बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना,बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।

सुधार गृहमा बाल कैदीबन्दीहरूले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए।

अहिले सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीहरूसँग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,प्रहरी उपरीक्षक मिश्र,प्रहरी नायब उपरीक्षक किशोर लम्साल सहितको टोलीले छलफल गरी उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले स्थिति सामान्य भएको प्रवक्ता लम्सालले बताए।

बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न १२७ जना बाल कैदीबन्दीहरू छन्। तर सुधार गृहको क्षमता ५० जनासम्मको छ। बाल कैदीबन्दीहरू आक्रोशित हुनुमा सरकारी संघ संस्थादेखि, गैरसरकारी संघसंस्था धेरै आउने गरेको कारण रहेको पनि बताए।

उनले एक महिनामा अनुगमनका लागि भनेर ५/७ पटक भन्दा बढी टोलीहरू आउने क्रम रहेको बताए। यो क्रम तीन वर्षदेखि नै जारी रहेको र उनीहरूले सोधपुछ गर्ने क्रममा तपाईंहरूका समस्या समाधान गर्छौं भन्ने आश्वासन दिने तर अहिलेसम्म पूरा नगरेकोमा आफूहरूलाई जिस्क्याएको महसुस गरेर आक्रोशित भएको हुनसक्ने बताए।

‘आज लगभग पौने १ बजेतिर त्यहाँभित्र भएका भाइहरूले १२७ जना छन्। उनीहरूले त्यहाँको प्रशासनसँगको असन्तुष्टि र अन्य विभिन्न निकायहरूबाट अनुगमनको क्रममा एक महिनामा ५/७ पटक भन्दा बढी टिमहरू आउने। प्रत्येक दिन आउने, सोधपुछ गर्ने, त्यहाँको अवस्थालाई हेर्ने, त्यहाँको भौतिक पूर्वाधारदेखि अन्य अवस्था पनि कमजोर नै छ। हाम्रो कम्पाउण्ड नै सानो छ। त्यहाँको क्यापासिटी ४५/५० जनाको हो। १२७ जना बसिरहेका छन्”, उनले भने, ‘खानेपानीका समस्या, छन्, गर्मीको समस्या, सुत्ने ठाउँको समस्या छ। त्यो समस्या विभिन्न सरकारी संस्था, गैरसकारी संस्थाहरूबाट अनुगमनका क्रममा जाँदा हिजो पनि र आज पनि फरक फरक अनुगमनको टोली आएको रहेछ। ति अनुगमन टोलीहरू पटक पटक आउँदा हामीलाई जिस्क्याउन आएको जस्तो लाग्यो। आउनुहुन्छ, सोध्नुहुन्छ, सुनुवाई हुन्छ भन्नुहुन्छ, दुई तीन वर्षदेखि समस्या उस्तै छ। जिस्क्याउन आएको जस्तो लाग्यो। न्यूनतम् सुविधाबाट वञ्चित भएका छौँ। भन्ने कुरा गरेर आवेगमा आएर होहल्ला गर्नुभयो। सुरक्षाकर्मीले तत्काल खबर गरेपछि सम्झाइ बुझाइ गरेका छौँ। एउटा लगाएको ताला फुटाउने कोशिस गर्नुभयो। तर सफल हुन सक्नुभएन।’

यसअघि २०८० भदौ २६ गतेपनि बालसुधार गृहमा बालकैदीबन्दीहरूबीच नै आपसमा झडप हुँदा ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए। थाहा खबर

Facebook Comments Box