एमाले कपिलवस्तुको जनसभा : राजतन्त्र दिवा सपना मात्र
कपिलवस्तु । नेकपा एमाले कपिलवस्तुले अगुवा कार्यकर्ताको जागरण सभा आयोजना गरी राजसंस्था व्युताउने भन्नेकुरा दिवा सपना भएको बताएका छन् । चैत्र १५ गते काठमाण्डौमा भएको राजावादी पक्षधरको प्रदर्शन हिसांत्मक र अराजकता भएको ठहर गर्दै शुरुवाती संकेत नै पतन हुने तर्फ उन्मुख भएको नेताहरुले बताएका छन् ।
नेकपा एमालेको केन्द्रिय निर्देशन अनुसार कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुडढी हनुमान चोकमा आयोजना भएको गणतन्त्रको रक्षा र विकास, सामाजिक सद्भाव राष्ट्रिय एकताको लागि जागरण सभामा बोल्ने अधिकांश नेताहरुले २४० वर्षे राजतन्त्रको विकास र गणतन्त्र पछिको मुलुकको विकासमा आमुल परिवर्तन आएको बताए ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले राजतन्त्र कुनै कालखण्डमा पनि नर्फकने ठोकुवा गर्दै अहिले मुलुकमा राजतन्त्र आउनु भनेको दिवासपना भएको जीकिर गरे । प्रमुख अतिथी समेत रहेका इन्चार्ज न्यौपानेले ठुलो वलिदान र संघर्षबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै संघीय गणतन्त्रलाई जनता स्वयं आफैले रक्षा गर्नुपर्ने बताए ।
नेकपा एमालेका लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थीले जनताको गुनासो नेताहरु प्रति अझै धेरै भएकाले पार्टी भित्र समस्या सिर्जना भएको बताए । समस्या हामी भित्रै छ, पार्टी भित्रै छ, हामीले आफुलाई सुधार गरेर लैजाने सके मिसन ८४ सफल हुने बताए । प्रदेश सांसद समेत रहेका पन्थीले जति माथील्लो कमिटीमा पुग्छौ त्यति धेरै समस्या देखिएको छ, नेताहरुमा रहेको कमी कमजोरी हटाए मात्र धेरै कुरा समाधान हुने बताए । पछिल्लो समय पार्टी भित्र सिर्जना भएको समस्या पनि कार्यकर्ताको निराशा, आक्रोश र विधी पद्धती अनुसार काम नहुनु नै प्रतिफल भएको पन्थीले बताए । उनले जनतामा कुनै समस्या नभएको र एमालेकै पक्षमा जनता रहेको स्पष्ट पार्दै पार्टी सच्चिएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बृजेश कुमार गुप्ता, केन्द्रिय सल्लाहकार परिषद् सदस्य भानु प्रकाश श्रेष्ठ, प्रदेश कमिटी सदस्य विश्राम प्रसाद थारु, साथै पार्टीका जनवर्गीय संगठनका अध्यक्ष लगाएतका नेताहरुले गणतन्त्र रक्षाको लागि खवरदारी गर्दै जनतालाई सुसूचित गर्ने कार्यमा प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले चैत्र २९ गते बुटवलमा हुने बृहत जनसभाको तयारीबारे जानकारी गराउदै कपिलवस्तुबाट ६ हजार जनसहभागीता हुने गरी सवै कार्यकर्तालाइ आवहन गरे ।
