जसपाले यही महिनाभित्र स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले चैत्र मसान्तसम्ममा स्थानीय तहअन्तर्गत वडा, पालिका र जिल्ला समितिको अधिवेशन सम्पन्न गर्ने भएको छ।
पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पालिका समितिको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूको समन्वयमा स्थानीय तहको अधिवेशन कार्यलाई तीव्रता दिएको बताए।
पार्टीको परिपत्रमा स्थानीय तहको अधिवेशनपश्चात् प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन गर्नुपर्ने उल्लेख छ। प्रदेश समिति र पहिचानमा आधारित राष्ट्रिय समितिको अधिवेशन वैशाख २५ गते भित्र र वैशाख मसान्तसम्म भ्रातृ सङ्गठनको अधिवेशन गर्ने पार्टीको निर्णय भएको पनि बस्नेतले जानकारी दिए।
‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को अवधिमा पार्टी प्रवेश कार्यक्रम, सदस्यता वितरण तथा नवीकरणलगायतका सङ्गठनात्मक गतिविधि बढेको र यो २०८२ वैशाख मसान्तसम्म जारी रहने बस्नेतले बताए। थाहा खबर
