जनकपुरमा हत्याको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप, तस्वीरहरू

सेयर गर्नुहोस

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धीमा होलीका दिन हत्या भएका १७ वर्षीय आँशु यादवको हत्यारालाई कारबाही गर्न माग गर्दै आन्दोलनरत स्थानीय र प्रहरीबीच झडप भएको छ।

आइतबार झडपका क्रममा प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको छ भने लाठीचार्जबाट स्थानीय र प्रहरी दुवै पक्षका दर्जनौं घाइते भएको छ।

बिहान देखि जनकपुरधाम–जलेश्वर सडकखण्ड अवरुद्ध गरेर प्रदर्शनमा उत्रेका स्थानीयहरूले हत्यामा संलग्न दोषीहरूलाई पक्राउ गर्न माग गरिरहेका थिए।

प्रहरीले सडक खुलाउन बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बन्दै गयो । झडपमा एक दर्जनभन्दा बढी स्थानीय घाइते भएको छ, भने केही प्रहरी पनि चोटग्रस्त भएका छन् ।

लाठीचार्जको क्रममा एक महिलाको टाउको फुटेको र उनी गम्भीर घाइते भएको अस्पताल स्रोतले जानकारी दियो। प्रहरीको लाठीचार्जपछि आक्रोशित भएका गाउँलेहरूले आक्रमण गरेपछि प्रहरीले पछि हट्दै अश्रुग्यास प्रहार गरेको थियो ।

झडपको क्रममा दुई महिला प्रहरी घटनास्थलमै फसेका थिए । उनीहरुलाई सञ्चारकर्मीहरूको सहयोगमा सुरक्षामा फर्काइए।

होलीका दिन साँझ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ विन्धीमा आँशु यादवमाथि छुरा प्रहार गरी हत्या गरिएको थियो । हत्याको मुख्य अभियुक्त धर्मेन्द्र महतो पक्राउ परे पनि घटनामा संलग्न भनिएका अन्य ६ जना अझै फरार छन् । स्थानीयहरूले किटानी जाहेरी दिए पनि प्रहरीले अन्य अभियुक्तहरूलाई पक्राउ नगरेको भन्दै बिहानैदेखि सडक अवरुद्ध गरेको हो।

प्रदर्शनकारीहरूले आरोपितहरू खुलेआम गाउँमै घुमिरहेको बताएर प्रहरीप्रति आक्रोश व्यक्त गरे। प्रहरीका अनुसार फरार अभियुक्तहरूको खोजी जारी रहेको भए पनि हालसम्म उनीहरूको ठेगाना नखुल्नाले स्थिति झन् जटिल बनेको छ। थाहा खबर

Facebook Comments Box