रौतहटको गरुडामा आगलागी हुँदा ७ घर जलेर ध्वस्त

सेयर गर्नुहोस

रौतहट : रौतहटको गरूडा नगरपालिकास्थित तरकारी बजारमा शुक्रवार विहान आगलागी हुँदा ७ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब १३ लाख २० हजार रूपैयाँ बराबरको सम्पत्ति नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गरूडा नगरपालिका वडा नम्बर ४, तरकारी बजार क्षेत्रमा बिहान साढे ९ बजे खाना पकाउने क्रममा सल्किएको आगो आसपासका खरले छाएका घरहरूमा फैलिएको थियो। आगलागीका कारण सात वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार गरूडा-८ जिगडियाका शेख कमाउद्दिनको मासु पसलमा १ लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा २ लाख, राजेन्द्र साहको फुसको पसल, सुजितकुमार चौधरीको खाजा पसलमा ३ लाख ५० हजार, गरूडा नगरपालिका-४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नगरपालिका-९ डुमरियाका सत्येन्द्र ठाकुरको फलाम पसलमा ३ लाख रूपैयाँ बराबरको क्षति भएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।

आगो नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले प्रयास गरे तापनि, पसलभित्र रहेका ग्यास सिलिन्डर पड्किएपछि आगो झन् फैलिएको थियो।

पछि गौर नगरपालिकाबाट आएको वारूण यन्त्रको सहयोगमा करिब एक घण्टामा आगो नियन्त्रणमा लिन सकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए।

तर आगो निभाउन गरूडा नगरपालिकाको वारूण यन्त्रले प्रभावकारी रूपमा काम नगरेको भन्दै स्थानीय बासिन्दाले मेयरप्रति आक्रोश पोखेका छन्। उनीहरूले नगरपालिकाले सामाजिक हितका लागि आवश्यक पूर्वाधारमा ध्यान नदिएको आरोप लगाएका छन्। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थाहा खबर

Facebook Comments Box