सेटिङ्गमा राजस्व छली गरि काठमाण्डौ जादै गरेको मालवाहक ट्रक पक्राउ
कपिलवस्तु,-
कृष्णनगर भन्सार कर्मचारी सेटिङ्गमा राजस्व छली गरि काठमाण्डौ जादै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । भन्सार गरिएको परिमाण भन्दा बढि फलफुल बोकेर काठमाण्डौ जादै गरेको यूपी ३२ एन ००६९ नम्बरको ट्रक विहिबार दिउसो कृष्णनगर प्रहरी कार्यालयले पक्राउ गरेको हो । विशेष सुराकीको आधारमा प्रहरीले जाँच गर्दा कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापनपत्रमा उल्लेखित परिमाण भन्दा २ क्वीन्टल बढि अंगुर भेटिएको थियो । भन्सार विन्दुबाटै राजस्व छली भएर फलफुल काठमाण्डौ गइरहेको सूचना पाएपछि आफुहरुले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करि ३ क्वीन्टल बढि सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणी अधिकारीले जानकारी दिए । “हामीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएका छौ” उनले भने । “हामीले जाँच गर्दा १० किलोका १२ क्यारेट र २० किलोका ८ क्यारेट अंगुर प्रज्ञापन पत्र भन्दा बढि पायौ” अधिकारीले भने ।
कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका अधिकृत स्तरका कर्मचारी र भन्सार ऐजेन्टकै मिलेमतोमा ट्रकमा रहेको भन्दा कम वस्तुको भन्सार गरेको कार्यालयकै एक कनिष्ठ कर्मचारीले बताए । भन्सार कार्यालयले चैत ७ गते जारी गरेको उक्त प्रज्ञापनपत्रमा ६ सय कार्टुन अंगुरको ८० रुपैयाको दरले भन्दै भन्सार गरेको छ । भन्सार ऐजेन्ट निरन्जन श्रीवास्तवले कृष्णनगरका भन्सार जाँच अधिकारी धातानन्द ज्ञवाली तथा भन्सार अधिकारी लेखनाथ भट्टराईलाई प्रभावित बनाएर ६२० कार्टुन अंगुर रहेको उक्त गाडीको ६ सय कार्टुनको मात्र भन्सार गराइएको श्रोतको आरोप छ । भारतको नासिक स्थित गणपती फ्रुट सप्लार्यसले काठमाण्डौ बल्खुमा रहेको एमबी फ्रुट सेन्टरलाई पठाएको उक्त अंगुरमा ३ क्वीन्टर अधिक अंगुरको राजस्व छली गरिएको हो । गणपती फ्रुट सप्लार्यसका ऐजेन्ट विमलले भन्सार ऐजन्ट मार्फत कृष्णनगरबाट निकासी हुने अधिकांश फलफुल तथा तरकारीहरुमा भन्सार कर्मचारी प्रयोग गरेरै राजस्व छली गराउने गरेको श्रोतको दाबी छ ।
भन्सार जाँचपास गरिएको उक्त गाडीमा कालो र सेतो दुईथरी अंगुर रहेपनि भन्सार कर्मचारी धातानन्द ज्ञवालीले एउटै वस्तु (अंगुर) मात्रै भनेर भन्सार गर्न सिफारिश गरेका छन् । जबकी भारत र नेपाल दुबै देशमा कालो अंगुर सेतो भन्दा करिब दोब्बर महंगो पर्ने गर्दछ । यसमा पनि मिलेमतो रहेको भन्सार कर्मचारी श्रोतको दाबी छ । कृष्णनगर भन्सार कार्यालयमा रहेको तौल मेशिन संचालन नगरी भारतीय बिलको भरमा कर्मचारीहरुले दिनहु यस्ता राजस्व छली गर्ने गरि भन्सार प्रज्ञापन पत्र जारी गरिरहेको बताइन्छ ।कृष्णनगर भन्सार विन्दुबाटै राजस्व छली भए भइरहेको यो पहिलो घटना भने होइन । १ महिना अघि मात्रै कृष्णनगर भन्सारले जाँचपास गरि प्रज्ञापन पत्र दिएर पठाएका २ वटा सिद्रा माछा शशस्त्र प्रहरीले पक्राउ गरि राजस्व कार्यालय पठाएको थियो । आफुलाई राजस्व संकलनमा इमान्दार बताउदै आएका कृष्णनगर भन्सार अधिकृत तथा कर्मचारीहरुले भन्सार यार्डमै तयारी अवस्थामा रहेको धर्मकाटा (तौल मेशिन) विगत २ बर्ष देखि बन्द गरेर सेटिङ्गमा वास्तविक वस्तुको कम तौल तथा कम परिमाणको भन्सार गर्दै आएका छन् । यहाँबाट दैनिक १५० भन्दा बढि मालवाहक ट्रकमा वस्तुहरु आयात हुदै आएको छ ।
