कामपाले थाल्यो एलपिजी ग्यासको सम्भावित जोखिम घटाउन निरीक्षण र सचेतना

सेयर गर्नुहोस

काठमाडौँ : ग्यास प्रयोग गरेर खाना पकाउनेहरुले ग्यास सिलिन्डरमा बजारबाट किनेर रेगुलेटर र पाइप जोडेपछि ग्यास उपयोग गर्दा कुनै समस्या हुँदैन भन्ने विश्वास राखेको पाइएको छ।

काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले ग्यास सिलिन्डर बालेर खाना पकाउने धेरै ठाउँमा गरेको संयुक्त निरीक्षणका क्रममा भरिएको सूचक फर्म र गरिएको कुराकानीबाट यस्तो देखिएको हो।

महानगरपालिकाले अहिलेसम्म ५६ वटा पसलको निरीक्षण गरेको छ। यो निरीक्षण सचेतना अभिवृद्धि गराउन सञ्चालन गरिएको महानगरपालिकाले जनाएकाे छ।

महानगरपालिकाका अनुसार घरघरमा खाना पकाउने प्रयोजनका लागि सिलिन्डरमा भरेर ल्याइने ग्यास एलपिजी अर्थात् लिक्विफाइड पेट्रोलियम ग्यास हो। यो प्रज्वलनशील पदार्थ भएका कारण उपयोगमा सावधानी अपनाउन सकिएन भने आगलागी हुने, सिलिन्डर विस्फोट हुने खतरा हुन्छ।

यो खतराबाट बच्न ग्यास उत्पादक, सिलिन्डर उत्पादक, सिल उत्पादक, सिलिन्डर भर्ने कम्पनी, ढुवानी गर्ने सवारीसाधन, गुणस्तर जाँच गर्ने अधिकारी, डिष्ट्रिव्युटर, डिलर, बिक्रेतासँगै उपभोक्ताहरूको आ-आफ्नै भूमिका हुन्छ। यस्तै ग्यास चुलो, चुलोमा जोडिने पाइप, पाइपमा जोडिने रेगुलेटर उत्पादक र बिक्रेताको महत्वपूर्ण भूमिका रहने महानगरपालिकाले जनाएको छ।

यसमध्येको ढुवानी नियमन र व्यवस्थापन गर्न एलपिजी ग्यास ढुवानी नियमावली २०७३ जारी गरिएको छ। घरेलु प्रयोजनमा ल्याइने ग्यासको नियमन र व्यवस्थापनका लागि ‘एल. पि. जी. ग्यास नियमावली २०६५’ जारी गरिएको छ।

यसअनुसार घरेलु प्रयोजनका लागि १४.२ किलोग्राम तौल भएको रातोबाहेक अन्य सिलिन्डरमा एलपिजी ग्यासको कारोबार गर्न हुँदैन।

सिलिन्डरमा ग्यास भर्ने उद्योगको नाम र लोगो, सिलिन्डरको सिरियल नम्बर, निरीक्षकको टाँचा, हाइड्रोलिक परीक्षण गरिएको मिति, वर्किङ् वा टेस्ट प्रेसर, भल्वसहित खाली सिलिन्डरको तौल, सिलिन्डर जाँच गरिएको मिति र अर्कोपल्ट पुनः जाँच गर्नुपर्ने मिति खुलाउनुपर्छ।

सिलिन्डरको फुट रिङ् (पिँध) र घाँटी (नेक रिङ्) काटेर जोडिएको भए ग्यास भर्न हुँदैन।

ग्यास सिलिन्डरमा प्रयोग गरिने भल्व पनि प्रमाणपत्र प्राप्त कम्पनीले मात्र उत्पादन गर्न पाउँछन्। यसमा पनि भल्भ निर्माताको नाम, लोगो वा कोड नम्बर र भल्भ निर्माण गरेको मिति उल्लेख गर्नुपर्छ। महानगरपालिकाका अनुसार ८ वटा सूचक र २४ वटा उपसूचकका आधारमा अवस्था हेरिएको थियो।

आगलागी हुँदा तत्काल निभाउन प्रयोग गरिने फायर एक्स्टिङ्ग्विसरको उपलब्धता, यसलाई चलाउन कर्मचारीको तालिम, कार्यस्थलमा आपतकालीन ढोका वा मार्गको व्यवस्था, कार्यस्थलमा पर्याप्त हावा आउन जान सक्ने अवस्था, काम गर्दा लगाउने सुरक्षा सामग्री वा पोशाक, भान्छामा ग्यास नियन्त्रण गर्ने, दबाब नाप्ने, स्वचालित रूपमा ग्यासको आपूर्ति रोक्ने, ग्यास चुहिएको थाहा पाउने विधि र यसको प्रयोग, ग्यास जडान गर्दा अपनाउनुपर्ने सुरक्षा विधि, ग्यास भण्डारण सूचकमा समेटिएका छन्। थाहा खबर

Facebook Comments Box