मायादेवीका स्वास्थ्य चाैकीमा छैन औषधी, पालिका बेखबर
कपिलवस्तु, ४ चैत्र ।
गाउँपालिकाको लापरवाही: औषधि अभावले जनताको स्वास्थ्य संकटमा
कपिलवस्तुको मायादेवी गाउँपालिकाले जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्दै आएको छ । पालिकाका ८ वटै वडामा रहेका स्वास्थ्य चौकी तथा केन्द्रहरूमा महिनौँदेखि औषधि अभाव रहँदा पनि पालिका बेखबर बनेको छ । स्वास्थ्य चौकीहरूमा सामान्य ज्वरो, टाउको दुखाइ, रक्तचाप नियन्त्रणदेखि लिएर बालबालिकाका आधारभूत रोगहरूको समेत औषधि उपलब्ध नभएपछि सर्वसाधारण मर्कामा परेका छन् ।
संघीय सरकारले १० लाख ५२ हजार तथा गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरे पनि ७ महिना बितिसक्दा जम्मा ५ लाख बराबरको मात्र औषधि खरिद गरिएको छ। जसमा १६ प्रकारको औषधि खरिद गरिएको छ । जबकि, नेपाल सरकारको नीति अनुसार ९८ प्रकारका अत्यावश्यक औषधि सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क उपलब्ध हुनुपर्ने व्यवस्था छ । तर, अहिले पालिकाका स्वास्थ्य संस्थाहरूमा बिरामीहरूले अत्यावश्यक औषधि समेत पाउन नसक्ने अवस्था आएको छ ।
औषधि अभावको वास्तविक कारण खोज्दा, कमिसनको खेलमा गाउँपालिका नेतृत्व नै संलग्न रहेको आरोप स्थानीय बासिन्दाहरूले लगाएका छन् । एक स्थानीय बासिन्दाले आक्रोश पोख्दै भने: “हामीले यो सरकार जनताको सेवा गर्ने सोचेर चुनेका थियौँ, तर अहिले कमिसनको सरकार बन्यो ।
५ लाखको औषधि मात्रै किनियो, बाँकी रकम कहाँ गयो कोटेशनको नाममा ठेकेदार र पदाधिकारीबीच मिलेमतो भइरहेको छ।” एक स्वास्थ्यकर्मी भने बिरामीहरू औषधि खोज्दै आउँछन्, तर हामीसँग दिनका लागि केही हुँदैन । सेवाग्राहीहरूले गाली गर्छन्, औषधि चोरेको आरोप लगाउँछन् । गाउँपालिकाले ध्यान नदिँदा गाली खाने, अपमान सहने भने हामी नै भएका छौँ ।
यसबारे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादव सँग जिज्ञासा राख्दा उनले औषधि अभाव रहेको स्वीकारे तर समाधानका लागि कुनै ठोस कदम चालिएको छैन । यादव भने केही औषधि अभाव छ, तर हामी व्यवस्थापन गर्दैछौँ । आवश्यक औषधिको सूची प्रमुख प्रशासकीय अधिकृतलाई दिएका छौँ, तर टेन्डर कहिले खुल्छ, थाहा छैन ।
गाउँपालिकाको यस्तो गैरजिम्मेवारीपनका कारण बिरामीहरूले निजी मेडिकलमा महँगो मूल्यमा औषधि किन्न बाध्य भइरहेका छन् । सर्वसाधारण जनताले सरकारबाट निःशुल्क पाउने औषधि पाउन नसक्दा स्वास्थ्य अधिकार कुण्ठित भएको छ।
