डढेलो निभाउँदा घाइते भए एक लाखसम्म उपचार खर्च, पाँच लाखको जीवन बीमा
सरस्वती अधिकारी
काठमाडौँ : सरकारले वन डढेलोबाट हुने क्षतिका लागि सामूहिक दुर्घटना बीमाको व्यवस्था गरेको छ। वन डढेलो नियन्त्रण गर्न जाँदा सामान्य, गम्भीर घाइते वा मृत्यु समेत हुन सक्ने भएकाले सामूहिक दुर्घटना बीमा गरिएको वन तथा वातावरण मन्त्रालय, रेड कार्यान्वयन केन्द्रका प्रमुख सहसचिव नवराज पुडासैनीले बताए।
‘वर्षेनि वन डढेलो निभाउन जाँदा धेरै जना दुर्घटनामा पर्ने गरेका छन् तर राष्ट्रिय सम्पत्तिको रक्षा गर्दा घाइते उनीहरुले आफ्नै खर्चबाट उपचार गर्नुपर्दा धेरै गाह्रो भएको छ’, सहसचिव पुडासैनीले भने‚ ‘गाउँले, उपभोक्ता, कर्मचारी सबैलाई सुरक्षित तवरले आगो नियन्त्रणमा खटिन उत्प्रेरणा र राहत मिलोस् भनेर बीमा कार्यक्रम सञ्चालन गरिएको हो।’
पाँच लाखसम्मको बीमा
एक व्यक्तिका लागि पाँच लाख रुपैयाँसम्मको बीमा हुनेछ। रेड कार्यान्वयन केन्द्रले सानिमा जिआइसी इन्सोरेन्स लिमिटेडसँग बिहीबार (फागुन १५) देखि लागू हुने गरी नाम उल्लेख नभएका ४९६ जनाको सामूहिक दुर्घटना बीमा गरिएको जनाएको छ।
‘सरकारले जनताको बीमा गरिदिएको हो’‚ केन्द्र प्रमुख पुडासैनीले भने‚ ‘सामान्य घाइते, गम्भीर घाइतेको एक लाखसम्मको उपचार खर्च र पाँच लाखसम्मको जीवन बीमा हुन्छ।’
उनका अनुसार डढेलो नियन्त्रणमा खटिने डिभिजन वन कार्यालय वा मातहतका निकायमा कार्यरत सरकारी वन कर्मचारी, सशस्त्र वनरक्षक, नियुक्त गरिएका अग्नि नियन्त्रक एवं दस्ता, सामुदायिक, साझेदारी, कबुलियती वन समूहका पदाधिकारी तथा उपभोक्ता सदस्यहरूको बीमा गरिएको छ।
यसैगरी मध्यवर्ती सामुदायिक वनका उपभोक्ता सदस्यहरू, समूहले नियुक्त गरेका वन हेरालु तथा वन पालेहरूको सामूहिक बीमा गरिएको हो। केन्द्रले त्यस्तो दुर्घटना भएमा आवश्यक कागजात सहित सम्बन्धित डिभिजन वन कार्यालयबाट सहजीकरण गर्ने व्यवस्था मिलाउन र बीमाको विषय सबै वन कर्मचारी उपभोक्तालाई जानकारी गराउन सबै (८४) डिभिजन वन कार्यालयहरूलाई अनुरोध समेत गरेको छ।
बीमासँगै डढेलो निभाउने क्रममा केही दुर्घटना भइहाले थोरै भए पनि राहत मिल्ने पुडासैनीको विश्वास छ।
वर्षेनि ८ जनाको मृत्यु, ८ घाइते
वर्षेनि देशभर वन डढेलोका कारण सरदर ८ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाउँछ। यसैगरी ८ जना घाइते हुने गरेका छन्, केहीको अंग भग भएको अवस्थामा पनि उचित उपचार पाउन नसकेको अवस्था छ।
वन डढेलो तथा आगलागीका कारण पछिल्लो १५ वर्ष (सन् २००८–२०२४ सम्म) मा १४३ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते भएका छन्। विगत २० वर्षको तथ्यांक केलाउँदा वर्षेनि ३ हजारभन्दा बढी डढेलोका घटना हुने गरेका छन्। मध्य फागुनदेखि मध्य वैशाख (मार्च र अप्रिल) मा सबैभन्दा धेरै ७४ प्रतिशत आगलागीका घटना हुने गरेका छन् भने मध्य चैत वैशाखमा डढेलोको जोखिम उत्तिकै हुने गरेको छ।
डढेलो वन विनाश तथा क्षयीकरणको मुख्य कारकका रूपमा रहेको छ भने कार्बन उत्सर्जनमा समेत यसले प्रमुख भूमिका खेल्दै आएको छ।
