पाल्पाका सबै स्थानीय तहमा सार्वजनिक विदा

सेयर गर्नुहोस


पाल्पा — आज देशभरका मगर समुदायले ४३ औं राष्ट्रिय मगर एकता दिवस मनाउँदैछन् । मध्य पहाडी भेगका साथै तराईमा बसोवास गर्ने मगर समुदाय बाहुल जिल्लामा विभिन्न स्थानीय तहमा गोष्ठी, छलफल, कला, संस्कृति, साँस्कृतिक झाँकी प्रदर्शनलगायत कार्यक्रम हुँदैछन् ।

मगर एकता दिवसका अवसरमा जिल्ला, नगर र गाउँपालिकास्तरीय मगर संघका साथै विदेशमा बसोवास गर्ने मगरसँग आबद्ध संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गर्ने नेपाल मगर संघ पाल्पाकी अध्यक्ष शान्ति झेंडी थापाले बताइन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार चार सय ९८ रहेको छ । यो कुल जनसंख्याको ६.९ प्रतिशत हो । ४३ औं मगर एकता दिवसका अवसरमा मगर बाहुल पाल्पाका दुई नगरपालिका र आठ स्थानीय तहले सार्वजनिक बिदा घोषणा गरेका छन् । मगर समुदायले फागुन १५ गतेलाई मगर एकता दिवस तथा उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक विदा दिइएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए ।

स्थानीय तह मातहतकासम्पूर्ण कार्यालयहरु, शिक्षण संस्था, स्वस्थ्य संस्था र अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । एकता दिवसको अवसरमा तानसेन र रामपुर नगरपालिकाको विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शन सहितका कार्यक्रमहरु गर्दै आएको छ ।
पाल्पाकै निस्दी, माथागढी, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाले एक दिन स्थानीय बिदा दिएका छन्। वैखरी समाचार

Facebook Comments Box