चन्द्रौटामा व्यवस्थित बसपार्क निर्माणको माग, महामन्त्री थापाले दिए सकारात्मक आश्वासन

सेयर गर्नुहोस

सनिउल्ला धोबी-

कपिलवस्तुको चन्द्रौटामा व्यवस्थित बसपार्क निर्माणका लागि नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य पूर्वमन्त्री गगनकुमार थापासँग माग गरिएको छ ।

चन्द्रौटा विभिन्न क्षेत्रबाट महत्वपूर्ण मानिए पनि विकास निर्माणका पाटाहरू कमजोर भएको भन्दै महामन्त्री थापालाई यस क्षेत्रको विकासमा विशेष ध्यान दिन आग्रह गरिएको नेपाली कांग्रेस कपिलवस्तुका उपसभापति हुकान्त खनालले जानकारी दिनुभयो ।

यसैक्रममा, कपिलवस्तु चन्द्रौटाका नागरिकहरूले महामन्त्री थापासँग भेट गरी चन्द्रौटालाई सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले केन्द्रीय सरकारबाट विशेष पहल गर्न अनुरोध गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ (क) का क्षेत्रीय सभापति तथा युवा नेता गोविन्द केसीले बताउनुभयो ।

भेटका क्रममा महामन्त्री थापाले चन्द्रौटाको विकासका लागि आफू सधैं तत्पर रहेको उल्लेख गर्दै, लुम्बिनी प्रदेशको राजधानी नजिक रहेको चन्द्रौटालाई व्यवस्थित शहर बनाउन सक्दो प्रयास गर्ने आश्वासन दिनुभएको छ ।

साथै, यस क्षेत्रको विकास अघिल्लो अवस्थाभन्दा सुधार भएको उल्लेख गर्दै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उक्त भेटघाट कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सचिव कमल केसी, नेपाली कांग्रेस शिवराज नगरपालिकाका नगर सभापति मधु पोखरेल, नगर सचिव विष्णु पोखरेल, नेपाली कांग्रेसका नेता विनोद नेपाल, युवा तथा समाजसेवी विशाल गुप्ता, युवा नेता मोहन केसी, नेता केशव पाण्डे, युवा नेता गणेश जिसी, नेता राम प्रसाद न्यौपाने, नेविसघ केन्द्रीय सदस्य मन्जु विश्वकर्मा, वरिष्ठ नेता गोपाल बहादुर जिसी, विद्यार्थी नेता विश्व घिमिरे, नेपाली कांग्रेसका नेता विनोद कुँवर, प्रकाश न्यौपाने, नेता अब्दुल रहमान मिया, कृष्ण प्रसाद गैरे, यम प्रसाद भुर्तेल लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box