पाल्पा मदनपोखरामा कृषि मेलाको तयारी पूरा
पाल्पा : तानसेन नगरपालिका-९ मदनपोखरामा शनिबार कृषि मेला हुने भएको छ।
मदनपोखरा संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा तेस्रो कृषि मेला प्रदर्शनी हुने भएको हो। मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
कृषि व्यवसाय कृषि उद्यम र कृषि पर्यटन प्रवर्द्धन गर्न मेला आयोजना गरिएको हो। झकृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौँ भन्ने नाराका साथ तिन्टी आँप खेल मैदानम हुन लागेको हो।
३५ वटा स्टल रहनेछन्। प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी हो। मेलामा कृषि बाली, बाख्रा कुखुरा, रैथाने बाली, कृषि औजार, बीउबिजन प्रदर्शनी हुनेछ।
पशु रोग निदान तथा गोबर परीक्षण, बाली रोग निदान शिविर, प्लान्ट क्लिनिक, माटो परीक्षण शिविर, कृषि उद्यम अनुभव आदानप्रदान लगायतका स्टल रहने सहकारीका अध्यक्ष घनश्याम घिमिरेले बताए।
किसानले आफैँले बनाएका खानाका परिकार, किसानकै गीत, नाटक र नृत्य, कृषक समूहहरूको झाँकी र्याली मेलाका आकर्षण रहने उनले बताए।
फौबन्जार, मध्यस्थताकर्ता, बिचौलिया, र दलालहरू विना किसानहरूको उपभोक्तासँग र वस्तु तथा सेवा प्रदायकसँग पहुँच स्थापित होस् भन्ने अभिप्रायले कृषि मेला आयोजना गरेको वडा नम्बर ९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए। किसानको हित, परस्पर लाभ र सम्मानसँग यो मेला जोडिएको उनले बताए। स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न यो मेलाले सहयोग गर्नेछ।
मेला सम्पन्न गर्न ५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। उत्कृष्ट किसानलाई पुरस्कृत गरिनेछ।
मदनपोखरा तरकारी खेतीले परिचीत छ। गतवर्ष यहाँबाट ६ सय मेट्रीक टन तरकारी निर्यात भएको थियो। २ करोडभन्दा बढीको कारोबार भएको व्यवस्थापक अनिसा ढकालले बताइन्।
यो वर्षको ६ महिनामा ४२२ मेट्रीक टन तरकारी निर्यात भइसकेको छ। मदनपोखरामा काउली, बन्दा, भाण्टा, टमाटर, खुर्सानी, काक्रो, धनिया, साग, मुला, गाजर, सिमी बोडी उत्पादन हुन्छ।
३०० बढी किसान सहकारीमा सूचीकृत भएर व्यवसायिक खेती गर्दै आएका छन्। व्यक्तिगत उत्पादनलाई सहकारीले सामूहिक बजारीकरण गर्दै आएको ढकालले बताइन्।
