‘किसानलाई व्यावसायिकतातर्फ डोर्याउँदै आरजु राइस मिल’
काठमाडौं : नेपाली उपभोक्तालाई गुणस्तरीय चामल उपलब्ध गराउँदै आएको ‘आरजु राइस मिल’ले किसानलाई व्यवासयिक धानखेती गर्न प्रोत्साहित गर्दै आएको छ। मोरङको बेलबारी–९ पोखरियास्थित अत्याधुनिक आरजु राइस मिल (चामल उद्योग) ले पूर्वी नेपालको मोरङ, सुनसरी तथा झापाका करिव ४ हजार किसानसँग सहकार्य गर्दै देशभरका उपभोक्ताहरुलाई सुलभ मूल्यमा धान विक्री गर्दै आएको छ।
मिलले धान उत्पादक किसानलाई धान भित्र्याउनका लागि आवश्यक उपकरण सहयोग गर्ने र बजारको सुनिश्चितता गरिदिएपछि धानखेतीतर्फ किसानको आकर्षणसमेत बढ्दै गएको छ। मोरङका किसान दिव्यराज खतिवडाले आरजु राइस मिलसँग जोडिँदा धेरै सुलभता र सहज भएको बताए।
उनले आफू उक्त मिलसँग यान्त्रिकीकरणका लागि जोडिएको भए पनि अहिले उत्पादित धानसमेत मिलले नै किन्ने गरेको बताए। धान उत्पादनमा सहयोग गर्ने र उत्पादित धानले उचित मूल्य पाएपछि आफूहरुलाई कुनै समस्या नरहेको बताए।
आरजु राइस मिलले धान खरिदका लागि अग्रिम मूल्य ग्यारेन्टी गर्ने भएकोले आफूहरु ढुक्क भएर धान खेती गरिरहेको बताए।
उनले भने, ‘आरजु राइस मिलसँग जोडिएको चाहीँ यान्त्रिकरणकै लागि हो। किनकि खेती गरिन्छ, हार्वेस्टिङ छैन। जनशक्तिको अलि कमि भयो। त्यसकारण पनि जोडिएको हो। पछि उहाँहरुले मिल स्थापना गरिसकेपछि धान खरिद नि गर्न थाल्नुभयो। एउटा समूहगत रुपमा सहकार्य गरेर अहिलेसम्म आइरहेका छौं। हामी दुई रोपनीमा उहाँहरुसँग मिलेर चैते र असारे धान खेती गर्दै आएका छौं। यसमा सबैभन्दा सबल पक्ष भनेको पेमेन्ट नै। अर्को उपकरणहरुको सुलभता नै हो। राम्रो छ।’
बाहिर बजारमा धान बेचेको पैसा समेत समयमा नआउने भएको कारण आरजु मिलसँग सहकार्य गरेको उनको भनाइ छ।
अर्का किसान सोमबहादुर पौडेलले धान खेती गर्दा आवश्यक उपकरणहरु पठाइदिने धान खरिद गर्ने भएको कारण धेरै सहज भएको बताए। बजारको समेत चिन्ता नहुँदा व्यावसायिक धान खेती गर्दै आएको उनले सुनाए।
उनले मिलले प्रत्येक वर्ष नयाँ प्रजातिको धानको बीउ वितरण गर्दा भने रोग लाग्ने र उत्पादन घट्ने चिन्ता रहेको बताए। उनले किसानलाई राम्रो शुलभता दिएकै कारण यहाँका किसानहरु सामुहिक धान खेती गरिरहेको बताए।
उनले भने, ‘म आरजु राइस मिलसँग विगत चार वर्षदेखि जोडिएको हुँ। उहाँहरुले मिल स्थापना गर्नुभन्दा अगाडि नै हार्वेस्टर मेसिनरहरु ल्याउनुभयो। उहाँहरुसँग हामी जोडिनुको मुख्य उद्देश्य के हो भने वर्षे धान लगाउँदाखेरि आवश्यक उपकरणहरु पठाइदिने र धान खरिद गरिदिने गर्नुहुन्छ। केही समस्या नभएको कारण अहिलेसम्म जोडिराखेका छौं। एउटा समस्या चाहीँ के छ भने उहाँहरुले धान चाहीँ नयाँ नयाँ ल्याउनुहुन्छ। यो पटक पनि बोलाउनुभएको थियो गयौं। किसानको बीचमा जुन छलफल राख्नुभयो। त्यसमा हामी खुशी छौं। हामीले मिलसँग नजोडिकन बाहिर पनि धान बेच्न सकिन्छ। तर बाहिर चाहीँ व्यापारिले पैसा देला कि नदेला भन्ने समस्या हुन्छ। त्यहाँ चेक तुरुन्तै पाउँछ।’
आरजु राइस मिलका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले आरजु राइस मिलले धानको आयात घटाउन सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको बताए। उनले सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना गर्न नसकिने समेत बताए। उनले धानखेतीमा आत्मनिर्भर बन्न र व्यावसायिक धान खेती गर्नको लागि आरजु राइस मिलले सहकार्य किसानसँग सहकार्य गरिरहेको बताए।
उनले भने, ‘आरजु राइस मिलले सामुदायिक उद्यमशीलताको अभ्यास गरिरहेको छ। सामुदायिक उद्यमशीलताको अभ्यास नगरिकन समृद्धिको परिकल्पना नै गर्न सकिँदैन। अब राइस मिलललाई सहकार्य गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ मलाई। मैले यो सबै गर्नुको उद्देश्य अबको हाम्रो पुस्ता पलायन नहोस् भन्ने मात्रै हो। नत्र भने मलाई यहाँनिर आएर यसरी भिड्नुपर्ने जरुरत नै छैन। आगामी पुस्ताको लागि गर्न खोजिरहेका छौँ।’
उनले किसानलाई निर्वाहमुखीबाट व्यावसायिकतातर्फ लैजाने उद्देश्यले कम्पनीले आफ्नै धानखेती र मिलमार्फत विभिन्न बास्नादार चामल उत्पादन गरिरहेको बताए। ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरिएको आरजु राइस मिलले मोरङ, सुनसरी र झापामा गरी चार हजारभन्दा बढी किसानको सहकार्यमा विभिन्न जातका धान उत्पादन गर्दै आएको जनाएको छ।
