डिभोर्सपछि एलिनाले विष्णुलाई भनिन्- मैले पाउने सम्पत्ति पनि तिम्रै लागि छाडेँ
काठमाडौँ : गायिका एलिना चौहान र उनका पति विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ। आज (मंगलवार) जिल्ला अदालत काठमाडौँले एलिनाले हालेको सम्बन्धविच्छेद मुद्दाको छिनोफानो गरेको हो।
सम्बन्धविच्छेदपछि एलिनाले सामाजिक सञ्जालबाट आजदेखि स्वतन्त्र भएर कानूनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको बताएकी छिन्। उनले पत्नीका रुपमा अधिकारले आफूले पाउने सम्पत्ति विष्णुको प्रगति र उन्नतिका लागि नलिएर उनलाई नै छोडेको बताएकी छिन्।
सामाजिक सञ्जालमा उनले भनेकी छिन्, ‘प्रिय विष्णु, अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरु अझै उस्तै छन्। तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिन्छिन् आवाज अझै उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाह दर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाह दर्ता र शारीरिक मिलनमात्रै विवाह होइन रहेछ। भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ। जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ। आजदेखि स्वतन्त्र भएर कानूनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ, पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु, तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु।’
गत वैशाख ५ गते एलिना र विष्णुबीच विवाह भएको थियो तर विवाह भएको १० महिना पनि नबित्दै उनीहरूको सम्बन्धविच्छेद हुन पुगेको छ।
