चर्कियो पूर्वपश्चिम राजमार्गको बागमती पुलको बिम‚ सडक डिभिजनले थाल्यो मर्मत
चन्द्रपुर : पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहट र सर्लाही जिल्लाका बीचमा रहेको बागमती नदीको पुलको बिम चर्किएपछि मर्मत थालिएको छ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले डेढ किलोमिटर ड्राइभर्सन बनाएर पुल मर्मत थालेको हो। केही दिनअगाडि पुलको बिम (गर्डर) चर्किएको थियो।
पुलको पूर्वतर्फ ४ र ५ नम्बरको स्परमाथि जडान गरिएको बिम झण्डै ८ सेन्टिमिटर चर्किएको कार्यालयका प्रमुख अरुणकुमार कर्णले जानकारी दिएका छन्।
यही माघ २६ गते डाइभर्सन बनाएर २८ गते (सोमवार)देखि पुल मर्मत थालिएको जानकारी उनले दिए। करिब ५५ वर्षअघि नेपाल-सोभियत सङ्घ सहयोगअन्तर्गत निर्मित बागमती नदी पुलको ४–५ नम्बर स्परको बीचमा रहेका बिममा रहेको बेरिङ राख्ने ‘प्याडेस्टल’ कङ्क्रिट फुटेको उनले बताए।
पुलमा आधुनिक प्रविधिबाट उच्च गुणस्तरको कङ्क्रिट हालेर ढलान भइरहेको प्रमुख कर्णले बताए। यही वेला अन्य बिमको पनि सरसफाइ तथा बेरिङ र कङ्क्रिटको अवस्था हेर्ने उनले बताए। आगामी फागुन २ गतेभित्र पुल सञ्चालनमा ल्याउनेगरी मर्मत भइरहेको उनले बताए।
चौबिसै घण्टा व्यस्त रहने पुलको यथाशीघ्र मर्मत गरेर पुलबाट सवारी सञ्चालन गराउने लक्ष्य लिएको उनले बताए। पुलको ४–५ नम्बर स्पानको बीचमा बिम चर्किएर समस्या आएपछि पुल महाशाखाको टोली आएर स्थलगत निरीक्षण गरेर दिएको सुझावका आधारमा मर्मत शुरु गरिएको उनको भनाइ छ।
सम्भवतः फागुन २ गतेदेखि पुलबाट सवारी सञ्चालनमा आउने उनले बताए। माघ २५ गते सडक डिभिजन कार्यालयले पत्रचार गरेर २७ गतेदेखि सवारी आवागमनमा रोक लगाइएको थियो। पुलको बिम चर्किएपछि सवारी आवागमन जोखिमपूर्ण बनेको थियो।
