ठेकेदार चिनियाँ कम्पनीकाे अटेरी, बुटवल–नारायणगढ सडक निर्माण ठप्प
लुम्बिनी ।
बुटवल–नारायणगढ सडक निर्माणको म्याद एक वर्ष थपेको दुईसाता बितिसक्दा पनि ठेकेदार कम्पनीले काम सुरु गरेको छैन । ११३ किलोमिटर विस्तारको ठेक्का ०७५ चैत ८ मा भएको थियो । सुरु सम्झौताअनुसार ०७९ साउन २२ भित्र निर्माणको काम सकिसक्नु पर्ने हो । उक्त अवधिमा काम नसकिएपछि दोस्रोपटक ०८१ साउन ८ सम्मका लागि म्याद थपिएको थियो । उक्त अवधिमा पनि काम नसकिएपछि थप एक वर्ष म्याद थपिएको हो । सडक विस्तारको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले लिएको हो । फेरि म्याद थप हुँदा पनि काम सुरु नभएपछि आयोजनाका जिल्ला प्रमुखसँग स्पष्टीकरण सोधिएको छ ।
नारायणगढ सडक आयोजनाको पूर्वी खण्डको कार्यालय प्रमुख इञ्जिनियर आशीष थापालाई गत शुक्रबार स्पष्टीकरण सोधिएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्गमा कहीँ कतै काम गरेको नदेखिएपछि बुटवल–नारायणगढ सडक निर्माण आयोजनाको पूर्वीखण्डको कार्यालय गैँडाकोटमा छड्के जाँचमा जाँदा कार्यालयमा पालेबोहक कोही भेटिएका थिइनन् ।
पोखरेलले कार्यालय प्रमुख, इञ्जिनियरलगायत कर्मचारी नबसेर कार्यालय नै रित्तो बनाएकोले स्पष्टीकरण सोधिएको बताउनुभयो । राजमार्गमा जताततै ठूलाठूला खाल्डा परेका छन् । सडक पानी पर्दा हिलैहिलो र घाम लाग्दा धुलैधुलो हुन्छ । एक दिन पानी परेन भने राजमार्ग धुलोले हिँडनै नसकिने हुन्छ । खासगरी देवचुली नगरपालिका, गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका भित्रको सडक क्षेत्रको दुर्दशा छ । दाउन्नेदेखि पूर्व चोरमारासम्मको क्षेत्रमा हिँड्नै नसकिने अवस्था रहेकाे हिमालयन टाइम्समा खबर छ ।
