भारतीय रक्षामन्त्री सिंहसँग कांग्रेस सांसद चन्दा चौधरीको भेटवार्ता

सेयर गर्नुहोस

काठमाडाैं |
नेपाली कांग्रेसकी सांसद एवं नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेकी छिन् । भारत भ्रमणमा रहेकी चौधरीले आइतवार नयाँ दिल्लीमा भारतीय रक्षामन्त्रीसंग भेटवार्ता गरेकी हुन् ।

भारतीय जनताा पार्टी (भाजपा)का वरिष्ठ नेतासमेत रहेका सिंहसँग दुईदेशको आपसी सम्बन्धको विषयमा छलफल भएको चौधरीले जानकारी दिइन् । नेपाल–भारतबीच सदियौँदेखि मित्रता रहेको र दुइदेशका जनताबीचको सम्बन्ध अझै प्रगाढ बनाउनु पर्ने नेता सिंहले बताएका थिए ।

‘नेपाल र भारतबीच जनस्तरको सम्बन्ध सदिऔंदेखि चलिरहेको छ, हामी नेपाली जनताको उन्नतीको लागि सहयोग गर्न हमेसा तयार छौं’ मन्त्री सिंहको भनाइ उदृद्ध गर्दै अध्यक्ष चौधरीले लोकान्तरसँग भनिन् ।
अध्यक्ष चौधरीले नेपाल–भारत सीमा क्षेत्रमा नागरिकलाई दुवै देशले विशेष सुविधा उपलब्ध गराउनु पर्ने कुरा भारतीय रक्षामन्त्री सिंहसंग राखेकी थिइन् । अहिले पनि सीमा क्षेत्रका जनताले केही सुविधा पाइरहेको तर विभिन्न झन्झट रहेको भन्दै सो हटाउन भारत सरकारसँग उनले आग्रह गरेकी थिइन् ।

१३ वर्षदेखि नेपाल भारत महिला मैत्री समाजको अध्यक्षको रूपमा सीमा क्षेत्रमा नागरिकले भोगेको कुरा राखेको चौधरीले बताइन् । ‘सीमा क्षेत्रको ३० मिलोमिटर क्षेत्रका नागरिकलाई दुवै देशले विशेष सुविधा दिनुपर्ने माग राखेकी छु’ चौधरीले भनिन् ।

नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चौधरीले वित्त राज्यमन्त्री पंकज चौधरी, वीजेपी संसदीय दलका प्रमुख सचेतक डा सञ्जय जयसवालसँग पनि भेटवार्ता गरेकी छिन् । दिल्लीमा भाजपाका अन्य नेतासँग पनि उनले भेटवार्ता गर्ने कार्यक्रम छ ।

Facebook Comments Box