यो वर्ष पनि नारायणघाट-बुटवल सडकमा धुलाम्मे र हिलाम्मे यात्रा गर्नुपर्ने

सेयर गर्नुहोस

दाउन्ने : पाँच वर्षदेखि सकसपूर्ण यात्रा गर्दै आएका यात्रुले यो वर्ष पनि नारायणघाट-बुटवल सडकखण्डमा हिलाम्मे र धुलाम्मे हुँदै कष्टकर यात्रा गर्नुपर्ने भएको छ।

पूर्व मेचीदेखि पश्चिम महाकाली पुग्ने उक्त सडकको हालत २०७५ सालदेखि निकै खराब रहेको छ। सडक विस्तारको शिलान्यास सोही वर्ष गरिएको थियो।

सडक विस्तारको काम विसं २०७९ साउन २२ मै सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो।

२०८१ साउनमा पनि उक्त सडक खण्ड नबनेपछि सरकारले साउन १० गते पुनः एक वर्ष म्याद थपेको छ। समयमा काम हुन नसकेपछि सरकारले तेस्रोपटक उक्त सडकको म्याद थपेको हो।

अहिलेसम्मको निर्माण प्रगति हेर्दा थप म्यादमा पनि कार्यसम्पन्न हुनेमा आशंका गरिएको छ। अघिल्लो वर्ष म्याद थप हुँदा सडकको भौतिक प्रगति ४२ प्रतिशत थियो।

सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ। घाम लाग्दा धुलो र वर्षामा हिलोले गर्दा यो सडकखण्डको यात्रा अति कष्टकर हुने गरेको छ।

उक्त सडकखण्ड गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा पर्छ। उक्त सडकले संघीय राजधानी काठमाडौँलाई गण्डकी प्रदेश‚ लुम्बिनी प्रदेश‚ कर्णाली प्रदेश र सुदूरपश्चिमलाई जोड्ने गर्छ। साथै ती प्रदेशलाई कोशी‚ मधेश र बागमती प्रदेशसँग जोड्ने काम गर्छ।

नारायणघाट-बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण कात्तिक १५ पछि मात्रै शुरु गर्ने निर्माण पक्षले सरकारलाई कार्यतालिका उपलब्ध गराएको हो।

बर्खाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम ठप्प छ। पर्खाल निर्माण र मर्मत भइरहेको नारायणघाट–बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले बताए।

उक्त सडक विस्तारको काम चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनियरिङ कर्पोरेशन प्रालिले गर्दै आएको छ।

सडकको भौतिक प्रगति अहिले पूर्वी खण्डमा ५२ प्रतिशत रहेको इञ्जिनियर खनालले बताए। ११३ किमी सडकमध्ये साढे २६ किमी चार लेन र २२ किमी दुई लेन सडक कालोपत्र, ४२ पुल र ३८० कल्भर्ट निर्माण गरिएको छ।

Facebook Comments Box