‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालनमा

सेयर गर्नुहोस

बैतडी : जिल्लामा लामखुट्टे मार्ने अभियान सञ्चालन गरिएको छ। डेंगु रोकथाम तथा नियन्त्रणका लागि बिहिबारदेखि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिए।

स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा अभियान सदरमुकामबाट सुरु भएर जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको छ। उनले भने,’वर्षातको समयमा पानी जम्मा भएको लामखुट्टेले अण्डा पार्ने भएकोले यो अभियान सञ्चालन गरेका छौं , साथसाथै डेंगुबाट बच्नका लागि अपनाउनुपर्ने उपायका बारेमा पनि सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेका छौं।’

डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मी,जनप्रतिनिधि,सुरक्षाकर्मी, नागरिक समाज तथा स्थानीयको सहयोगमा लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सञ्चालनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको लेखकले बताए। उनले भने, ‘पहाडी जिल्लामा पनि डेंगुको जोखिम बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि यो अभियान थालेका हौं। ‘

पानीका ड्रम,पानी जम्ने खाडल, पुराना टायर, पानीका बोतल, फुलका गमला, पानी जम्मा हुने ठाउँमा लामखुट्टेले फूल पार्ने भएकाले सरसफाइ गरिएको हो।
साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

Facebook Comments Box