कञ्चनजंघा क्षेत्रमा हिमचितुवाको आक्रमण बढ्यो

सेयर गर्नुहोस

ताप्लेजुङ : जिल्लामा हिमचितुवाले चौँरी तथा याकलाई आक्रमण गर्ने क्रम बढेको छ। गत वर्ष आर्थिक वर्ष २०८०/८१ मा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट निस्केका चितुवाले किसानले गोठमा पालेका १६ याक मारिदिएको थियो।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका अनुसार फक्ताङलुङ गाउँपालिका-७ याङ्माका आङ्मु शेर्पा, गोम्बो शेर्पा, नाम्ग्या शेर्पा, छिरिङ शेर्पा, झम्जुक शेर्पा, छिमिदोर्जे शेर्पा, छेतेन टासी शेर्पा, भोमो शेर्पा र तेन्जिङ शेर्पाले पालेको याक हिउँचितुवाले आक्रमण गरी क्षति पुर्याएको हो। उच्च हिमाली क्षेत्रका किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेका याकपालन हो।

कार्यालयका सचिव मनकुमार लिम्बूले हिउँचितुवाबाट आक्रमण भई क्षति भएका याकको प्राविधिक अध्ययनपछि किसालाई ४० हजारदेखि एक लाख २० हजार रुपैयाँ क्षतिपूर्ति तथा राहत उपलब्ध गराएको बताए।

उहाँका अनुसार आव २०८०/८१ मा कञ्चनजंघा संरक्षण क्षेत्रका किसानले गोठमा पालेको १६ याक हिउँचितुवाले मारेको छ। परिषद्ले ती याकको क्षतिपूर्ति तथा राहतका लागि रु पाँच लाख पाँच हजार किसानलाई उपलब्ध गराएको थियो ।

त्यस्तै कञ्चजङ्घा संरक्षण क्षेत्रअन्तर्गत सिरिजङ्गा गाउँपालिका-८ याम्फुदिन क्षेत्रमा चितुवाको आक्रमणबाट दुई-दुई गोरु र फक्ताङलुङ-५ को हिमाली क्षेत्रमा चारवटा बाख्रा आक्रमणबाट मारिएको परिषद्ले जनाएको छ। परिषद्का अनुसार दुई गोरुवापत ५० हजार र चारवटा बाख्रावापत ३० हजार रुपैयाँ राहत उपलब्ध गराएको छ।

त्यस्तै सिरिजङ्घा-८ का मोहन राईको याक भालुले आक्रमण गरी खाइदिएको छ। याकपालक राईलाई परिषद् कार्यालयले ४५ हजार रुपैयाँ राहत उपलब्ध गराएको छ। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले गरेको अध्ययनअनुसार सन् २०१५ मा कञ्चनजङ्घा क्षेत्रमा २४ हिउँचितुवा पाइएको थियो। यसपछिगणना भएको छैन।

Facebook Comments Box