श्रमजीवी ऐनको कार्यान्वयन नगर्ने, नेपाल आजको कार्यालयमा घेराउ

सेयर गर्नुहोस
खडग बहादुर केसी
काठमाडौं । श्रमजीवी पत्रकार ऐनको खिलाफमा लामो समयदेखि काम गर्दै आएका श्रमजीवी पत्रकार तथा कर्मचारीहरुलाई मिडिया मालिकहरुले कामबाट निकाल्ने, तलव कटौति गर्ने, तलव नदिने र दुख दिने गरेको विरोधमा आज वानेश्वरस्थित नेपाल आज मिडियाको कार्यालयमा घेराउ गरिएको छ ।
विभिन्न मिडियामा कार्यरत पीडित पत्रककार र कर्मचारीहरुको संयुक्त संघर्ष समिति र नेपाल पत्रकार महासंघ श्रमजीवी पत्रकार हक, हित प्रर्वद्धन समितिको संयुक्त आयोजनामा उक्त घेराउको कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले ‘श्रमिकमारा दलाल सत्ताँका मतियारहरु होसियार’ भन्दै कडा शब्दमा चेतावनी दिए । उनले दलाल सत्ताँको आँडमा पछिल्लो समय दलाल, माफिया, तस्कर र श्रमिकमारा बेइमानहरु सल्बलाएको भन्दै तिनिहरुको हिसाब–किताब आन्दोलनबाटै गरिने बताए ।
प्रेस सेन्टरका अध्यक्ष जैसीले मिडिया मालिकहरुले कोरोनाको कृतिम समस्याको कारण देखाउँदै श्रमिकहरुमाथि गरेको अन्यायका विरुद्ध आफ्नो संगठनले कानुनी, सामाजिक तथा व्यबहारीक सबै हिसावले गम्भीर भूल गरेको भन्दै तत्काल गल्ती सच्याउन आग्रह गरे ।
अध्यक्ष जैसीले वर्तमान सरकार दलालीकरणको सेवामा रहेको आरोप लगाउँदै भने–‘समाचार लेखनमा सामान्य कमजोरी हुँदा साईबर अपराधको मुद्दा चलाउने, पत्रकारमाथि यातना दिने वर्तमान सरकार मिडिया मालिकहरुले श्रमजीवी पत्रकार ऐनको खिलाफमा कामदारहरुमाथि अन्याय गर्दा, पत्रकारहरुले न्यायको माग गरिरहदासम्म पनि किन उनीहरुलार्य छुट दिइरहेको छ ? प्रष्ट छ, वर्तमान सत्ताँ र सरकार दलालहरुको पक्षमा छ, श्रमिकमारा पक्षमा छ ।’
उनले तत्कालिन अवस्थामा देखिएका समस्याहरु वार्ताको माध्यमबाट मिडिया मालिकहरु हल गर्न तयार हुनुपर्ने र त्यसो नभएमा आन्दोलन नयाँ उचाईबाट चलाउदै श्रमिकमाथिको एक एक अन्यायको हिसाब किताब गरिने बताए ।
उनले देखिएको समस्याको कारण रुप पक्षमा मिडिया मालिक देखिएपनि सारमा वर्तमान संसदीय व्यवस्था भएको बताउँदै समस्याको दिर्घकालिन समाधानको लागि सम्पूर्ण श्रमजीवी, कलमजीवी तथा मजदुर, किसान र आम नागरिकले जनन्यायीक व्यवस्थाको लागि संगठित र निर्णायक आन्दोलन गर्नुको विकल्प नहुने बताए ।
उनले पेशागत हक र जनअधिकारको पक्षमा नेपाल बार ऐशोसिएसन र नेपाल पत्रकार महासंघ सधैंव आन्दोलनको नेतृत्वकर्ताको रुपमा इतिहास बनाउँदै आएको र अहिले पनि पत्रकार तथा नागरिकको अधिकारको पक्षमा सडकमा संघर्षको नेतृत्व गरिरहेको देख्दा आफुलार्य खुशी लागेको बताए । उनले पत्रकार महासंघ सधैंव सत्ताँको प्रतिपक्ष आन्दोलनको नेतृत्वमा रहेने बताए ।
त्यस्तै उक्त कार्यक्रममा विभिन्न आठ ट्रेड युनियन संगठनहरुको संयुक्त मोर्चाको तर्फबाट सम्बोधन गर्दै क्रान्तिकारी ट्रेड युनियन महासंघ, नेपाल (रिफन्ट) का केन्द्रीय सचिव लोकेन्द्र बहादुर थापाले श्रमिकहरुको राज्यसत्ताँले सम्मान गर्ने नीति नबनाएको भन्दै जनन्यायीक व्यवस्थाको विकल्प खोज्नु नै समस्याको दिर्घकालिन समाधानको बाटो भएको बताए ।
उनले दलालीकरणमा मस्त सरकार श्रमिकमारा रहेको भन्दै कडा शब्दमा विरोध जनाए । उनले श्रमजीवी पत्रकार तथा कर्मचारीहरुले उठाएका न्यायोचित मागहरुको सम्बन्धीत निकायले सम्बोधन नगरेमा थप कडा आन्दोलन गर्नुपर्ने र त्यसमा आफ्नो संगठनले र अन्य संगठनहरुले समेत त्यसमा पुरा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा प्रेस युनियनका सल्लाहकार शिव लम्सालले मिडिया मालिकका कारण समस्यामा परेका पत्रकार तथा कर्मचारीहरुले थालेको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाउँदै मिडिया मालिकलाई तत्काल समस्याको समाधान गर्न आग्रह गरे । माग पुरा नगरे आन्दोलनलाई कडाईतिर लग्नुपर्नेमा उनको जोड थियो ।
त्यस्तै उक्त कार्यक्रममा नेपालआज मिडियाबाट पीडित हुन पुगेका श्रमजीवी पत्रकार तथा उक्त मिडियाका सम्पादक संकेत कोइराला, पत्रकार कृष्ण मल्ल लगाएतले आफुहरुले भोग्नुपरेको समस्याको विषयमा बोलेका थिए । उनीहरुले मिडिया मालिकलाई अझैपनि केही नबिग्रेको भन्दै आफुहरुले पाउँनुपर्ने पारिश्रमिक दिन आग्रह गरेका थिए ।
उनीहरुले इमानका साथ मिडियामा काम गरिरहेको भएपनि मिडिया मालिकले विभिन्न सामाजिक सञ्जाल मार्फत आफुहरुको चरित्र हत्या हुनेगरि निराधार, कपोकल्पीत भ्रामक आरोप लगाउँदै गरिएको दुव्यवहारको भने धेरैनै दुख लागेको भन्दै त्यसका विरुद्ध कानुनी न्यायको बाटोमा जान बाध्य हुने चेतावनी दिए ।
नेपाल आज मिडियामा लामोसमयदेखि कार्यरत पत्रकार र कर्मचारीहरुलाई मिडिया मालिकले लामो समयदेखि पारिश्रमिक नदिएको र पछिल्लो समय काम गर्ने वातावरण नबनाइ विभिन्न आरोपहरु लगाउँदै आएको बुझिएको छ । त्यहाँबाट पीडित हुन पुगेका पत्रकार तथा कर्मचारीहरुले मालिकको श्रमिक नीतिका विरुद्ध संघर्षमा उत्रिन बाध्य हुनुपरेको बताएका छन ।
उक्त कार्यक्रममा प्रमुख आतिथिको रुपमा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका सचिव प्रकाश थापाले पनि मिडिया मालिकलाई श्रमिक पत्रकारहरुले उठाएका मागहरु वार्ताको माध्यमबाट हल गर्न आग्रह गरे । सहज रुपमा समस्याको हल नगरेमा त्यसका विरुद्ध महासंघ कडा कदम चाल्न बाध्य हुने भन्दै उनले समेत चेतावनी दिए ।
महासंघका सचिव थापाले पत्रकार महासंघ सधैंव श्रमजीवी पत्रकारको हक, हित र अधिकार प्राप्तीको आन्दोलनको नेतृत्वकर्ता संगठनको रुपमा रहेको भन्दै श्रमजीवीमारा मालिकहरुका विरुद्ध कानुनी र आन्दोलनको दुबै पाटोबाट अघि बढ्ने र मागहरु पुरा गराएरै छाड्ने बताए ।
महासंघका पूर्व सचिव समेत रहेका संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णले श्रमिकमारा मिडिया मालिकहरुको अन्याय, अत्याचार र शोषणका विरुद्ध आफुहरुले थालेको आन्दोलन निर्णायक बनाउने बताए । उनले कुनैपनि हालतमा श्रमजीवी पत्रकारहरुका मागहरु पुरा गराएरै छाड्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका क्रान्तिकारी पत्रकार संगठन नेपालका उपाध्यक्ष जन्मदेव जैसी, कान्तिपुर टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष निर्मला बस्नेत, कान्तिपुर मिडिया ग्रुप कर्मचारी संगठनका अध्यक्ष श्रीराम वाग्ले लगाएतको समेत आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा विभिन्न संञ्चारगृहबाट पीडित बनाइएका श्रमजीवी पत्रकार, कर्मचारी, संघ संगठनका नेता, कार्यकर्ता लगाएत गरी दर्जनौको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको निरन्तरतामा भोलि प्रेस रजिष्टारको कार्यालयमा लालटीन जुुलुश गर्ने समेत बुझिएको छ ।
Facebook Comments Box