पशुपतिनाथ मन्दिरमा साउनको तयारी पूरा
काठमाडौँ : पशुपतिनाथ मन्दिर परिसरमा साउन महिनाको सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। साउन भगवान् शिवको महिना भएकाले पशुपतिमा भक्तजनको बढी भीड लाग्ने गर्छ।
यस वर्ष साउनमा पशुपति क्षेत्रमा कोटी होम र शिवपुराणको पाठ पारायणजस्ता कार्यक्रम राखिएकाले विगत वर्षभन्दा अझ बढी भीड हुने भएकाले सुरक्षा बैठकलगायत तयारी गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
पशुपति क्षेत्रमा आजैदेखि चहलपहल शुरु भएको छ। साउनका ४ सोमवार, ५ शनिवार, नागपञ्चमी, गुरुपूर्णिमामा बढी भीड हुने भएकाले त्यसैअनुसार तयारी गरिएको उनले बताए।
साउनमा पशुपतिनाथ मूल मन्दिरका चारै ढोका विहान ३ बजेदेखि खुला गरिनेछ। कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो।
साउनमा आउने भक्तजनका लागि सहज होस् भनी चारै ढोका विहान ३ बजेदेखि नै खुला गर्न लागिएको हो।
हरितालिका (तीज), बाला चतुर्दशी, महाशिवरात्रि, वैशाख १ गतेको नयाँ वर्ष, अक्षय तृतीया, जनैपूर्णिमाजस्ता पर्वमा एक वा दुई दिन पशुपति क्षेत्रमा भीड हुने भए पनि साउनमा भने महिनैभर भक्तजनको विशेष भीड लाग्ने गर्छ।
पशुपति क्षेत्रमा लाग्न सक्ने भीडलाई व्यवस्थित गर्ने गरी कोषले स्वयंसेवकसमेत खटाउने जनाइएको छ। साउने मेलाका लागि दमकल, एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ।
साउनमा भक्तजनले सुन्दरीजलस्थित बागमती नदीको शुद्ध जल पशुपतिमा ल्याई चढाउने बोल बम मेलाका कारण पनि भीड हुने गरेको छ। बोल बम मेलामा नेपालका मात्र नभई भारतीय पर्यटक पनि सहभागी हुने गरेका छन्।
