युक्रेनमा नेटोको विस्तार ‘अस्वीकार्य खतरा’ : क्रेमलिन
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को युक्रेनमा विस्तार रूसको सुरक्षाका लागि ‘अस्वीकार्य खतरा’ भएको प्रतिक्रिया क्रेमलिनले दिएको छ।
वासिङ्टनमा भएको नेटो शिखर सम्मेलनमा बुधबार पारित संयुक्त घोषणापत्रमा ‘युक्रेनको भविष्य नाटो मै रहेको’ उल्लेख भएपछि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो प्रतिक्रिया दिएका हुन्।
‘गठबन्धन वास्तवमा युक्रेनी द्वन्द्वमा पूर्ण रूपमा संलग्न छ र यसको सैन्य पूर्वाधार क्रमिक रूपमा रूसको सीमातर्फ अघि बढिरहेको छ’, पेस्कोभले भने, ‘शुरुदेखि नै हामीले युक्रेनको भूभागमा नेटोको विस्तार हामी, हाम्रो अस्तित्व र हाम्रो सुरक्षाका लागि अस्वीकार्य खतरा हो भनेका थियौँ।’
शिखर सम्मेलनमा अपनाइएका उपायले रूसको राष्ट्रिय सुरक्षालाई खतरामा पार्न सक्ने भएकाले यसलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्न बाध्य बनाएको उनले बताए।
‘यसका लागि हामीले नाटोलाई नियन्त्रण गर्न विचारशील, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य उपायहरू बनाउन आवश्यक छ’,पेस्कोभले भने।
