नागरिक पत्रिकामा श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको धर्ना तथा घेराउः माग पुरा नगरे कडा संघर्ष गर्ने चेतावनी

पीडित पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समिति र नेपाल पत्रकार महासंघ, श्रमजीवी पत्रकार हक, हित प्रर्वद्धन समितिको संयुक्त आयोजनामा आयोजित उक्त धर्ना तथा घेराउ गरिएको हो ।
धर्ना कार्यक्रममा पीडित पत्रकार तथा कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै महासंघका केन्द्रीय सदस्य सिर्जना अर्याल, जन्मदेव जैसी, प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी लगाएतको कार्यक्रममा आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा कान्तिपुर मिडिया ग्रुप कर्मचारी युनियनका श्रीराम वाग्ले, नेपाल पत्रकार युनियन काठमाडौंका अध्यक्ष जगनाथ दुलाल लगाएत विभिन्न मिडियाबाट दुख पाएका श्रमजीवी पत्रकार तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे पत्रकार महासंघका सचिव पुनले मिडिया मालिकहरुले श्रमिकमाथि अन्यायपूर्ण ढंगले कामबाट निकाल्ने, दुख दिने, तलव नदिने खालका काम गरेकोप्रति विरोध जनाउँदै वार्ता, छलफलको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरिन ।
सचिव पुनले पटक पटक गरिएको आग्रहलाई मिडिया मालिकहरुले सुनुवाई नगरेमा महासंघले त्यसका विरुद्ध संशक्त र निर्णायक आन्दोलन गर्न बाध्य हुने भन्दै चेतावनी समेत दिइन । उनले आन्दोलन र मागहरुप्रति सम्वेदनशील हुन समेत मिडिया मालिकहरुलाई सचेत बनाइन ।
उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष जैसीले पनि मिडिया मालिकको श्रमिकमारा हर्कत विरुद्ध कडा संर्घष गरिने भन्दै चेतावनी दिएका थिए । अध्यक्ष जैसीले शान्तिपूर्वक, सचेतनापूर्वक उठाइएका मागहरलाई कार्यान्वयन गर्नु नै मिडिया मालिकहरुको लागि राम्रो हुने भन्दै सचेत समेत बनाए ।
अध्यक्ष जैसीले मुलुकमा विद्यमान दलाल संसदवादका कारण सदियौदेखि श्रमिक, मजदुर वर्गले अन्याय सहनुपरेको भन्दै त्यसको दिर्घकालिन समाधानको लागि जनन्यायीक राज्यव्यवस्थाको संघर्ष उठान गर्नुको विकल्प नहुने धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रेस युनियन काठमाडौंका अध्यक्ष दुलालले पनि श्रमिकहरुको पेटमा लात हान्ने मालिकहरुले सचेत भएर सोच्दै छलफलद्धारा समस्याको समाधान गर्नुनै राम्रो हुने भन्दै चेतावनी दिए । उनले माग पुरा नगरेमा संघर्षलाई निरन्तर अघि बढाउनुपर्ने विचार राखें ।
त्यस्तै कार्यक्रम समापन गर्दै संघर्ष समितिका संयोजक समेत रहेका पत्रकार धर्मेन्द्र कर्णले श्रमिकमाथि गरिएको अन्यायका विरुद्ध संघर्षमा उत्रिएका पत्रकारहरुको संख्यालाई आधार बनाएर कमजोरीका रुपमा नबुझ्न सचेत बनाउँदै सिङ्गो पत्रकार महासंघ, विभिन्न संघ संगठनहरु नै आन्दोलनमा उत्रिने दिन आयो भने मिडिया मालिकहरुले त्यसलाई थेग्न नसक्ने बताए ।
उनले आफुहरुले उठाएका मागहरु सबै उचित भएको र मिडिया मालिकहरुले पुरा गर्न नसक्ने खालको नभएको भन्दै त्यसलाई सौहार्दपूर्वक पुरा गराउनका लागि तयार हुन मालिकहरुलाई आग्रह गरे । उनले राज्य निकायलाई श्रमजीवी पत्रकार ऐनको कडाईका साथ कार्यान्वयन गर्नपनि आग्रह गरे ।
आन्दोलनको कार्यक्रमहरु निरन्तर अघि बढ्ने आयोजकले बताएको छ । आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार भोलि नेपाल आज मिडियामा घेराउ तथा धर्ना गरिने बुझिएको छ । त्यस्तै पर्सि सूचना विभाग लगाएतका सरकारी निकायहरुमा न्यायको लागि लालटीन बाल्ने र विरोध जनाउँने कार्यक्रम तय भएको बुझिएको छ ।
त्यस्तै संघर्ष समितिले भोलि नेपाल पत्रकार महासंघको उपस्थितिमा विभिन्न पत्रकार सम्बद्ध संघ संगठनहरुसँग छलफल समेत गर्दै छ । संघर्षका कार्यक्रम अन्तर्गत सरकारी निकायहरु घेराउ, विरोध सम्मका कार्यक्रमहरु तय भएको र त्यसको तयारी भैरहेको बुझिएको छ ।
Facebook Comments Box
