डाक्टरहरूको बिदा र छात्रवृतिमा अनियमितता, करोडौँ खर्च गरेर किनेका मेशिन अस्पतालमै थन्किए

सेयर गर्नुहोस

काठमाण्डाै – डाक्टरहरूको बिदा र छात्रवृतिमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औँ प्रतिवेदनमा डाक्टरहरूको बिदा र छात्रवृतिमा अनियमितता भएको पाइएको हाे ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार अध्ययन बिदामा जाने चिकित्सकले सम्झौताअनुसार काम नगरेमा अध्ययन गर्दा लाग्ने पूर्ण शुल्कको दोब्बर रकम जरिबाना असुल गर्नुपर्ने उल्लेख छ । स्वास्थ्य मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक चिकित्सकको एमडी अध्ययन गर्न अध्ययन बिदा स्वीकृत गरेकोमा सर्तअनुसार १ वर्ष सुगम र १ वर्ष दुर्गम स्थानमा सेवा नगरि राजीनामा पेश गरेकोले कबुलियतनामाअनुसार शुल्क रकमको दोब्बर अर्थात् ४७ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने जनाएको छ ।

यस्तै ठूलो रकम खर्चेर किनेका स्वास्थ्य उपकरण पनि प्रयोगमा नआएका महालेखाकाे प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य सेवा विभागले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई उपलब्ध गराएको १ करोड ३० लाख रुपैयाँ मूल्यका ७ थान हेमोडाइलासिस मेशिन, कोशी अस्पतालमा उपलब्ध गराएको २१ लाख १० हजार रुपैयाँका १० थान बाइपाप मेशिन, ७४ लाख ८२ हजार रुपैयाँको २ थान भेन्टिलेटर मेशिन, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा हस्तान्तरण भएको १० करोड ६९ लाख रुपैयाँका ४५ थान भेन्टिलेटरसहितका उपकरण प्रयोगमा नआएका महालेखाले जनाएको छ ।

यसैगरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले २०७९ सालमा खरिद गरेको १ करोड ४८ लाख रुपैयाँको अर्थोस्कोपी मेशिन र ओटी टेबुललगायतका उपकरणसमेत प्रयोगमा आएको छैन ।

स्वास्थ्य सेवा विभागले अस्पतालहरूको मागविना नै उपकरण खरिद गरी अस्पतालहरूलाई हस्तान्तरण गर्ने, मूल्य नखुलाउने, वारेन्टी/ग्यारेन्टीका कागजात हस्तान्तरण नगर्नेलगायतका समस्याहरू देखिएका प्रतिवेदनमा उल्लेख छ ।

Facebook Comments Box