२६ सार्वजनिक संस्थान नाफामा, तीनवटाको कारोबार शून्य

सेयर गर्नुहोस

काठमाडौं : देशमा सञ्चालित ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा चलिरहेका छन्।

अर्थमन्त्री वर्षमान पुनले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष २०७९र८० मा २६ संस्थान नाफामा देखिएका छन्।

सोमबारको गोरखापत्र दैनिकमा समाचार छ,१५ वटा संस्थान घाटामा रहेका छन् भने जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल विद्युत् उत्पादन कम्पनी लि र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको गरी तीनवटा संस्थानको कारोबार शून्य रहेको छ।

आव २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानको खुद नाफासमेत वृद्धि भएको छ। यस आवमा संस्थानको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ। आयको उच्च वृद्धि हुनुमा नेपाल आयल निगम उच्च दरले नाफामा जानु मुख्य कारण मानिएको छ।

अघिल्लो वर्ष निगम ३८ अर्ब १७ करोड घाटामा रहेको निगम गत वर्ष भने ११ अर्ब ७२ करोड नाफामा रहेको छ। ४४ सार्वजनिक संस्थानको खुद नाफा ४८ अर्ब ५१ करोड रहेकोमा पाँच संस्थानको नाफा मात्रै ७५.६७ प्रतिशतभन्दा धेरै छ। यी पाँच संस्थानको मात्रै ३६ अर्ब ६९ करोड नाफा भएको छ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८।६२ प्रतिशतले बढेर छ खर्ब ६१ अर्ब १० करोड पुगेको छ। गत आवको तुलनामा सेयर लगानी ९।१९ प्रतिशतले वृद्धि भई तीन खर्ब ७९ अर्ब ७२ करोड रुपियाँ पुगेको छ भने ऋण लगानी ७.८६ प्रतिशतले कमी आई दुई खर्ब ८१ अर्ब ३८ करोड ऋण लगानी रहेको छ।

सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको पाइएको छ। सार्वजनिक संस्थानको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ।

Facebook Comments Box