दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र पार्न मन्त्री श्रेष्ठले दिए निर्देशन

सेयर गर्नुहोस

कर्णाली : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काममा तीव्रता दिन निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले आज कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहितको टोलीलाई आफ्नै कार्यकक्षमा बोलाएर दशौँ खेलकुद प्रतियोगिताबारे जानकारी दिने क्रममा त्यस्तो निर्देशन दिएका हुन्।

मन्त्री श्रेष्ठले आगामी मङ्सिरमा हुने खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने र सोहीअनुसार तयाररी गर्न निर्देशन दिएको सञ्ज्यालले बताए।

प्रतियोगिता आयोजक कर्णाली प्रदेशको उत्साह र पूर्वतयारीले धेरै खुशी लागेको भन्दै मन्त्री श्रेष्ठले अबको केही दिनमा स्थलगत अध्ययनको लागि मन्त्रालयका तर्फबाट टोली खटाइनेसमेत बताएको जानकारी उनले दिए।

“दशौँ राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश भए पनि सफल बनाउन सबैले लाग्नुपर्छ, अबको केही दिनमा मन्त्रालयका तर्फबाट रिजल्ट आउने गरी कामको थालनी हुन्छ”, मन्त्री श्रेष्ठलाई उद्धृत गर्दै सञ्ज्यालले भने।

छलफलमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले प्रतियोगिताको आन्तरिक तयारी बलियो बनाइसकेकाले तोकिएको मितिमा प्रतियोगिता हुने सुनिश्चितताका लागि आग्रह गरे।

“हिजो खेल पूर्वाधारको अभाव देखाएर धेरै पटक कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर लिन सकिरहेको थिएन। अहिले कर्णाली हरेक हिसाबले सक्षम छ”, सदस्य सचिव सन्यालले भने, “प्रतियोगिता तोकिएको मितिमा हुन्छ भन्नेमा हामी त ढुक्क छौँ। सङ्घीय सरकार, राष्ट्रिय खेलकुद परिषद् र विभागीय मन्त्रालयले त्यो सुनिश्चितता गर्नुपर्छ।”

Facebook Comments Box