दश महिनामा पाँच हजारभन्दा बढी डढेलो

सेयर गर्नुहोस

काठमाडौँ : करिब दश महिनाका अवधिमा पाँच हजार १३० वटा डढेलोसम्बन्धी घटना भएको छ। वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को साउनयताको तथ्याङ्क विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको घटना भएका छन्। विभागको तथ्याङ्कानुसार चालु आवका साउनमा डढेलोको घटना शून्य छ। वर्षातको समयमा पानी पर्ने र वनजङ्गलको पातपतिङ्गर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ।

यसैगरी विभागको तथ्याङ्कानुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा एक सय तीना आगलागीका घटना भएका थिए। यसैगरी माघमा जम्मा ८३ वटा आगलागीका घटना भए भने फागुनमा डढेलाको सङ्ख्या बढेर दुई सय छ पुग्यो।

चैत महिना अझै बढी सुक्खा हुँदै गएपछि डढेलाको घटना पनि बढेर एक हजार चार सय २४ पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ। यसैगरी वैशाखमा अझै डढेलोको घटना बढेर तीन हजार दुई सय ७० पुग्यो।

विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म पाँच हजार एक सय ३० वटा आगलागीका घटना भएका छन्। विभागको तथ्याङ्कानुसार यही जेठयता भने ३० डढेलोको घटना भएकामा जनाइएको छ। आज एकैदिन सात डढेलोको घटना भएका छन्।

विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको बताए।

उनका अनुसार डढेलोका कारण बर्सेनि वनजन्य स्रोतको विनास हुनु, वन्यजन्तुको नास हुनु, बासस्थानमा असर पुग्नुलगायतका समस्या उत्पन्न हुने गरेको छ।डढेलोविद् सुन्दर शर्माका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय हाराहारीमा डढेलाको घटना हुन्छन्।

Facebook Comments Box