सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

सेयर गर्नुहोस

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिहीबार विश्वासको मत लिँदै छन्। बिहान १०ः३० बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिने कार्यसूची छ।

सत्ता साझेदार नेकपा एमालेले विश्वासको मत दिने निर्णय गरेपछि मुख्यमन्त्री सोडारी प्रक्रियामा जान लागेका हुन्। एमाले सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक सुरेन्द्र पालले मुख्यमन्त्रीलाई विश्वासको मत दिन केन्द्रबाट निर्देशन आएको बताए। यसअघि एमालेले निर्णय नगर्दा वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगित भएको थियो ।

वैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारीले संविधानअनुसार एक महिनाभित्र अर्थात् यही जेठ ५ गतेभित्र विश्वासको मत लिनुपर्छ।

एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई र स्वतन्त्र डा. तारा जोशीको समर्थनमा सोडारी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्। ५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादी पार्टीका चार तथा राप्रपा र स्वतन्त्र एक-एक सदस्य छन्।

Facebook Comments Box