सुखानी काण्डको ४७ वर्ष पूरा
काठमाडौं : आज फागुन २१ अर्थात् झापा विद्रोहका नेताहरु रामनाथ दाहाल,नेत्र घिमिरे,कृष्ण कुईंकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठहरुलाई सुखानीमा गोली हानेर हत्या गरेको दिन।
२०२९ फागुन २१ मा तत्कालीन पञ्चायती शासकले इलामको माईनगरपालिका–४ को सुखानीमा झापा आन्दोलनका अगुवाहरुलाई गोली हानी हत्या गरेको थियो।
झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। उनीहरुले सहादत्त प्राप्त गरेको दिनलाई ‘सुखानी काण्ड’को रुपमा परिचित रहेको छ।
२०२७ सालमा झापाली युवाहरुले तत्कालिन पूर्व कोशी प्रान्तीय कमिटीबाट विद्रोह गरेर झापा कोअर्डिनेसन केन्द्र (कोके) गठन गरेका थिए। कोके मार्फत् नै मोही किसानहरुको हक स्थापित गर्न युवाहरु लागिपरेका थिए।
यही अभियान सञ्चालन भइरहँदा २०२९ साल मंसिर आसपासमा यि योद्धाहरुलाई प्रहरीले पक्राउ गरेर चन्द्रगढी जेलमा राखेको थियो। उनीहरुलाई स्थानीय जमिन्दारहरुको हत्याको अभियोग लगाएर थुनिएको थियो।
उनीहरुलाई पक्राउ गरेको करिब ३ महिना पछि चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गतेको राति सुखानीको जंगलमा गोली हानेर हत्या गरेको थियो ।
सुखानीमा पञ्चायती शासकले हत्या गरेका उनीहरुलाई केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री काल २०७२ फागुन १९ गते सरकारले शहीद घोषणा गरेको थियो।
