लुम्बिनीमा हुन लागेको अमेरिकी शिखर सम्मेलनमा चिनियाँ चासाे

सेयर गर्नुहोस

काठमाडौँ । लुम्बिनी प्रदेशमा हुन गइरहेको अमेरिकी संस्थाकाे लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलनबारे चीनले विशेष चासो लिएको छ ।

अमेरिकामा मुख्यालय रहेको लोरेट्स एण्ड लिडर्सले फागुन २८ र २९ गते आयोजना गर्न लागेको शिखर सम्मेलनमा नोबेल पुरस्कार विजेता दलाई लामा आउने चर्चाले गर्दा चीनले विशेष
चासाे देखाएकाे छ।
स्रोतका अनुसार यस विषयमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि लिएर लुम्बिनी सरकारसँग पनि विभिन्न चरणमा कुराकानी गरिसकेका छन् ।

राजदूत सोङकै सक्रियतापछि कार्यक्रम छोट्याइएको छ । सो सम्मेलन फागुन २७, २८ र २९ गतेका लागि तय भएको थियो तर अब दुई दिनमात्र हुने लुम्बिनी प्रदेश सरकारले माघ २५ गते विज्ञप्तिमार्फत जनाइसकेको छ ।
फागुन २७ गते अर्थात् मार्च १० मा तिब्बतका शरणार्थीहरुले ‘तिब्बतीयन अपराइजिङ् डे’ मनाउने गरेका हुनाले त्यो दिनलाई चीनले संवेदनशील दिनको रुपमा लिएको छ ।

मार्च १० कै दिन कार्यक्रम उद्घाटन गर्ने र त्यही कार्यक्रममा भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतका धर्मगुरु नेता दलाई लामा आउने भएपछि आफ्नो विरुद्ध केही गतिविधि हुन सक्ने भन्दै चीनले चिन्ता प्रकट गर्दै आइरहेको छ ।

यो सम्मेलनमा नौ जना नोबेल शान्ति पुरस्कार विजेता आइरहेका छन् । त्यसमध्ये सन् २०१४ मा नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थी भारतीय हुन् । यो सम्मेलनको संयोजन उनै सत्यार्थीले गरेका छन् ।

सत्यार्थी दलाई लामा निकट मानिन्छन् । स्रोतहरुको दाबीलाई मान्ने हो भने सत्यार्थीले लामालाई सम्मेलनमा ल्याउन चाहेका छन् । तर लामा आउनेबारे अझै टुङ्गो लागेको छैन ।

यो कार्यक्रमप्रति चीनले सुरुदेखि नै चासो लिइरहेको थियो । कार्यक्रम नै नगर्ने वा कार्यक्रम गरे पनि दलाई लामाबाहेकका अतिथि निम्त्याएर मार्च १० भन्दा पहिले या पछि गर्न चीनले आग्रह गर्दै आइरहेको थियो । प्रधानमन्त्री प्रचण्डले सो शिखर सम्मेलनका कारण दुई देशबिचको सम्बन्धमा असर नपरोस् भनेर दलाई लामालाई ल्याउन रोक लगाएको स्रोतको दाबी छ ।

आज प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद सूर्य थापाले धर्मगुरु दलाई लामालाई लुम्बिनीको कार्यक्रममा बोलाएर कस्तो सन्देश दिन खोजेको भन्दै यसको बारेमा परराष्ट्रमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

दलाई लामाको विषयलाई लिएर लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले पनि आपत्ति जनाएका छन् । उनले आफूलाई यो कार्यक्रमको बारेमा आधिकारिक जानकारी नरहेको बताए ।

कार्यक्रमको बारेमा आफूले सञ्चारमाध्यमबाट जानकारी पाएको बताउँदै उनले यो खालको कार्यक्रम हुनु लुम्बिनी प्रदेशका लागि गर्वको कुरा भए पनि कतिपय कुराले प्रश्न उब्जाएको बताए ।

धर्मगुरु दलाई लामाले चीनविरुद्ध विद्रोह गरेकै दिन पारेर कार्यक्रम किन राखेको भन्दै उनले प्रश्न गरेका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि अमेरिकाको रोजाइमा किन प¥यो भन्ने प्रश्न पनि उनले गरे ।

यसको सामरिक महत्त्व बारेमा पनि सभामुख घर्तीले प्रश्न उठाएका छन् । सम्पूर्ण कार्यक्रमको बारेमा प्रदेश सभालाई जानकारी गराउन पनि उनले भनेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमन घिमिरेले धर्मगुरु दलाई लामालाई कुनै निमन्त्रणा नगएको र यो कार्यक्रममा उनी नआउने प्रस्ट पारे । उनले भने, ‘मेरो जानकारीमा उहाँ आउने कुनै पनि कार्यक्रम छैन, र आउनका लागि निमन्त्रणा पनि दिएको छैन ।’

मुख्यमन्त्री कार्यालयका प्रवक्ता निराजन घिमिरेले पनि सम्मेलनमा दलाई लामा आउने कुनै कार्यक्रम नरहेको बताए । दलाई लामा आउने कुरा चर्चामा आएपछि आफूले सबै डकुमेन्टस् हेरेर सबैतिर बुझ्दा लामालाई कार्यक्रमका लागि निमन्त्रणा पनि नगएको उनले प्रस्ट पारे ।

उनले यस्ता कार्यक्रमले कुनै देशलाई सशंकित बनाउने नभएर विश्वसँग मित्रवत् तथा शान्तिपूर्ण सम्बन्ध होस् भन्ने चाहना राखिएको पनि बताए ।

सम्मेलनमा आउने अतिथिमा नोबेल शान्ति पुरस्कार विजेता अब्देसातार बेन मुसा, ओउडेड बोचामाउई, कैलाश सत्यार्थी, एरिह वार्शेल, लेमाह गोबोवी, तावाक्कोल करमान, जोडी विलियम्स, होर्टा र रिचर्ड जे रोबर्ट्सको नाम निश्चित भइसकेको आयोजकले जनाएको छ । थप एक जना अतिथि आउने टुङ्गो लाग्न बाँकी रहेको तर ती अतिथि दलाई लामा नभएको प्रवक्ता घिमिरेले बताए ।

Facebook Comments Box