भारतीय जनता पार्टीको एक वर्षको आम्दानी २३ अर्ब ६१ करोड भारुभन्दा धेरै

सेयर गर्नुहोस

भारतका मुख्य राजनीतिक दलहरुको आम्दानीमध्ये झण्डै ७७ प्रतिशत हिस्सा सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) को मात्रै रहेको खुलेको छ । एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर) को प्रतिवेदनमा छ वटा राजनीतिक दलले आर्थिक वर्ष २०२२/२३ को आम्दानी सार्वजनिक गरेका छन् ।

गएको आर्थिक वर्षमा छ वटा दलले ३० अर्ब ७७ करोड भारु आम्दानी गरेकोमा भाजपाको मात्रै २३ अर्ब ६१ करोड भारु रहेको छ । एडीआरका अनुसार छ वटा राष्ट्रिय दलहरूको कुल आयको ७६ दशमलव सात प्रतिशत हिस्सा भाजपासँग छ ।

एनडीआरका अनुसार एकै वर्षमा भाजपाको आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ । सन् २०२१/२२ मा भाजपाको आम्दानी १९ अर्ब १७ करोड रहेकोमा २०२२/२३ मा बढेर २३ अर्ब ६० करोड पुगेको छ ।

दोस्रो स्थानमा रहेको कांग्रेस आईले भने जम्मा चार अर्ब ५२ करोड भारु मात्रै आम्दानी घोषणा गरेको छ । मुख्य छ वटा दलको आम्दानीमा कांग्रेसको हिस्सा १४ दशमलव ७० प्रतिशत रहेको छ ।

त्यसैगरी आम आदमी पार्टीको आम्दानी ८५ करोड १७ लाख भारु रहेको छ । आम आदमीले पनि एक वर्षमा झण्डै दोब्बरले आम्दानी बढाएको हो ।

Facebook Comments Box