नेपाल र भारतका चिन्तन संस्थाबीच साझेदारी
काठमाडौं ।
नेपालको चिन्तन संस्थान एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए) र भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसन (भिआइएफ)बीच पारस्परिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नेपाल र भारतका स्वतन्त्र चिन्तन संस्थानहरूबीच बुधबार दिल्लीमा हस्ताक्षर भएको हो।
एआइडिआइएका संस्थापक सुनील केसी र फाउन्डेसनका निर्देशक डा. अरविन्द गुप्ताले हस्ताक्षर गरेको समझदारीपत्रमा अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा प्राज्ञिक एवं बौद्धिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्य उल्लेख छ। दुई संस्थानबीच पारस्परिक सहकार्यका लागि बलियो ढाँचासहित रणनीतिक साझेदारी भएको एआइडिआइएका संस्थापक केसीले जानकारी दिए।
‘दुई संस्थाहरूबीचको सम्बन्धलाई सुदृढ गर्न र विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न संयुक्त पहलहरूलाई बढावा दिन हामी तयार छौँ । यो साझेदारीले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ र यसमा दुवै संस्थाको साझा दृष्टिकोण समावेश छ,’ केसीले भने।
विवेकानन्द फाउन्डेसन भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालद्वारा स्थापित एक स्वतन्त्र चिन्तन संस्था हो। एआइडिआइए भने काठमाडौंमा रहेको स्वतन्त्र विदेश नीतिसम्बन्धी काम गर्ने चिन्तन संस्था हो।
