चोरी गरेको तीन दिन पछि चोरद्वारा सामान फिर्ता
बाँके : बाँकेमा अनौठो घटना घटेको छ। केही दिनअघि घर फोडेर लगेको सामान चोरले घर धनिकै आँगनमा लगेर राखिदिएको अनौठो घटना घटेको हो।
बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरेर लगेको थियो।
सोही तिलहरी र केही नगद रुपियाँ गएराति घर धनिकै आँगनमा लगेर राखिछाडेको भेटिएको बुद्धबीर वलीका छोरा प्रेम वलीले जानकारी दिए।
नगद र तिलहरी चोरी भइसकेपछि प्रहरीकोमा उजुरी दिएको उनले जानकारी दिए। “घरमा भएको तिलहरी र नगद पैसा चोरी भएपछि हामीले प्रहरीकोमा उजुरी निवेदन दिएका थियौँ” उहाँले भन्नुभयो, “मङ्गलबार राति चोरी भएको तिलहरी र नगद ४५ हजारमध्ये चोरले शुक्रबार राति तिलहरी र २३ हजार ३ सय ६० रुपियाँ घरको आँगनमा छोडेर गएछ, बाँकी पैसा पनि फिर्ता गरिदिए हुन्थ्यो।” उनले भने।
घरमा तिलहरी र नगद चोरी भएपछि बुद्धबीर वलीले खोजतलासका लागि बुधबार निवेदन दिएका थिए।
