विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढ्यो

सेयर गर्नुहोस

काठमाडौँ : नेपाल राष्ट्र बैंकले चालू आव २०८०।०८१ को पहिलो त्रैमासिकको देशको आर्थिक तथा वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरणअनुसार असोज मसान्तसम्म मुद्रास्फीतिले सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा सुधार भएको देखिएको छ। त्यसैगरी शोधनान्तर स्थिति पनि बचतमा छ।

चालू आवका लागि सरकारले मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राखेकोमा ७.५ प्रतिशत पुगेको छ। चालू आवको पहिलो त्रैमासिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.२३ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ।

घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ। गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १५.५५ प्रतिशत, विविध वस्तु तथा सेवाको १२.११ प्रतिशत, शिक्षाको ९.१ प्रतिशत, घरायसी उपयोगका वस्तुको ८.०८ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ६.२५ प्रतिशतले बढेको छ।

त्यसैगरी यातायात क्षेत्रमा १.६२ प्रतिशतको मूल्यवृद्धि देखिएको छ। असोज महिनामा काठमाडौँ उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२३, तराईको ५.६६, पहाडको ७.३८ प्रतिशत र हिमालको १०.२४ प्रतिशत रहेको छ।

त्यसैगरी यो अवधिमा विप्रेषण आप्रवाह ३० प्रतिशतले बढी रू ३ खर्ब ६५ अर्ब ३४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले बढेको थियो।

गत असोज मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ। चालू आवको पहिलो त्रैमासिकमा सरकारको चालू खाता रू ५९ अर्ब ९ करोडले बचतमा रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रू ३५ अर्ब २४ करोडले घाटामा थियो। त्यसैगरी वैदेशिक लगानी रू ३ अर्ब ३७ करोडले धनात्मक छ। असोज मसान्तसम्मको शोधनान्तर स्थिति रू ९९ अर्ब ७ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू १२ अर्ब ४३ करोडले बचतमा थियो।

गत असार मसान्तमा रू १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.०७ प्रतिशतले वृद्धि भई गत असोज मसान्तसम्म रू १६ खर्ब ४३ अर्ब ९ करोड पुगेको छ। चालू आवको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ।

पहिलो त्रैमासिक अवधिमा आयात १.०७ प्रतिशतले बढेको छ भने निर्यात २.०३ प्रतिशतले घटेको छ। कुल वस्तु व्यापार घाटा २.०१ प्रतिशतले बढेको छ।

Facebook Comments Box