अमेरिकासँग सबै तहमा सम्बन्ध सुधार्न चीन तयार

सेयर गर्नुहोस

चीनका उपराष्ट्रपति हान झेङले बुधबार अमेरिकासँग सबै तहमा कुराकानी गर्न चीन तयार रहेको बताएका छन्।

आगामी साता सानफ्रान्सिस्कोमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच अपेक्षित शिखर सम्मेलन हुनुभन्दा अघि उनको यस्तो धारणा आएको हो।

सिंगापुरमा ब्लुमबर्ग न्यु इकोनमी फोरममा उपराष्ट्रपति झेङले बेइजिङ र वासिङ्टनबीच हालैको उच्चस्तरीय बैठकहरूले सम्बन्धमा सुधार भइरहेको ‘सकारात्मक संकेत’ दिएको बताए।

‘हामी सबै तहमा अमेरिकासँग सञ्चार र संवादलाई सदृढ बनाउन, पारस्परिक रूपमा लाभदायक सहयोगलाई अघि बढाउन, मतभिन्नताहरूलाई उचित रूपमा व्यवस्थापन गर्न र संयुक्त रूपमा वैश्विक चुनौतीहरूको समाधान गर्न तयार छौँ,’ उनले भने।

निर्यात नियन्त्रण, मानव अधिकार र राष्ट्रिय सुरक्षालगायत थुप्रै मुद्दामा वासिङ्टन र बेइजिङबीचको सम्बन्ध हालैका वर्षमा उनीहरूको सबैभन्दा निम्नस्तरमा पुगेको छ।

तर, दुवै पक्ष कुराहरू मिलाउन इच्छुक रहेको देखिन्छ। वासिङ्टनले सञ्चारलाई सुदृढ बनाउन यसै वर्ष थुप्रै शीर्ष अधिकारीहरूलाई बेइजिङ पठाएको छ।

अमेरिकी राष्ट्रपति बाइडेनले ‘रचनात्मक’ वार्ताका लागि आगामी साता सानफ्रान्सिस्कोमा शिखर सम्मेलनका अवसरमा चिनियाँ नेता सीसँग भेट हुने आफूले अपेक्षा गरेको बताएका छन्।

यद्यपि, अमेरिका–चीन सम्बन्धको प्रश्नले ‘मानवताको भविष्यमा निर्भर गर्छ’ भन्ने राष्ट्रपति सीको विचारलाई उपराष्ट्रपति झेङले बुधबार दोहोर्‍याएसँगै बेइजिङले शिखर बैठकको पुष्टि गर्न बाँकी छ। उनले भने, ‘दुई मुलुकले आफूलाई विकसित गर्न र समृद्ध गर्नका लागि विश्व ठूलो छ।’

Facebook Comments Box