भुटानी राजाको भारत भ्रमण : रेल्वे सञ्जाल जोड्न सहमति

सेयर गर्नुहोस

चीनले भुटानसँग निकटता बढाउन थालेको भारतीय संशयबीच भुटानी राजाको भारत भ्रमण अर्थपूर्ण
नयाँदिल्ली — भुटानका राजा जिग्मे केसर नामग्याल ८ दिन लामो भारत यात्रामा छन् । यस वर्ष नामग्यालको यो दोस्रो भारत भ्रमण हो । यसअघि उनी गत अप्रिलमा भारत आएका थिए । भुटानले चीनसँगको सीमा विवाद सुल्झाउने प्रयास गरिरहेका बेला त्यहाँका राजाको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

भुटानले भारतलाई बाहिर राखेर चीनसँगको आफ्नो सीमा विवाद समाधानको प्रयत्न गरिरहेको संशय भारतमा बढेको छ । भारतको बढी प्रभावमा रहेको भुटानले पछिल्लो समय चीनसँग वार्ता र संवाद बढाएकोप्रति भारतीय संस्थापनको चासो देखिँदै आएको बेला भुटानी राजाको नयाँदिल्लीमा भव्य स्वागत गरिएको छ । विदेशमन्त्री एस.जयशंकर स्वयं इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेर नामग्यालको स्वागत गरेका थिए । गत महिना चीन भ्रमण गरेका भुटानका विदेशमन्त्री तान्डी दोर्जीले चीनसँगको सीमा विवाद छिटोभन्दा छिटो सुल्झाउन भुटान इच्छुक रहेको बयान दिएका थिए ।

चीन र भुटानबीच दोक्लाम क्षेत्रलाई लिएर सीमा विवाद छ । चीनले जमिन साटासाटको प्रस्ताव गरेको बताइएको छ । त्यसलाई लिएर भारत बढी सतर्क देखिएको छ । सन् २०१७ को जुनमा उक्त क्षेत्रमा भारत र चीनका सेनाबीच तनाव बढेको थियो । उक्त क्षेत्र भारत, चीन र भुटान तीनवटै देशको त्रिदेशीय सीमाबिन्दु हो । भारत दोक्लाममा चीनको प्रभाव रोक्न चाहन्छ । तर, चीनले पछिल्लो समय भुटानसँग निकटता बढाउन थालेको विषयले भारतको चिन्ता बढाएको हो । दोक्लाम क्षेत्र भारतको पूर्वोत्तर राज्यलाई जोड्ने सिलिगुडी करिडोर (चिकन नेक) नजिक पर्छ ।

भुटानी राजा नामग्यालले नोभेम्बर ३ देखि भारतको असम राज्यबाट भ्रमण थालेका हुन् । असमपछि दिल्ली र दिल्लीबाट मुम्बई पुगेका नामग्याल १० नोभेम्बरमा भुटान फर्किनेछन् । दिल्लीमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग महत्त्वपूर्ण द्विपक्षीय भेटवार्ता गरेका छन् । त्यसबाहेक विदेशमन्त्री एस.जयशंकरसँग उनको भेटवार्ता भएको हो । मोदी र नामग्यालको भेटवार्तापछि जारी १६ बुँदे संयुक्त वक्तव्यमा सीमाको विषय उल्लेख छैन । सीमापार व्यापार, कनेक्टिभिटी, ऊर्जा, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण लगायतका विषयमा दुई देशबीच सहमति भएका छन् ।

भारत र भुटानबीच रेल्वे सञ्जाल जोड्ने विषयलाई महत्त्वका साथ हेरिएको छ । असमको कोक्राझारदेखि भुटानको गेलेफु जोड्ने प्रस्तावित क्रस बोर्डर रेल लिंकको अन्तिम सर्वेक्षण गर्न दुवै पक्ष सहमत छन् । त्यस्तै, पश्चिम बंगालको बनारहटदेखि भुटानको सामत्सेसम्म रेलमार्ग निर्माण गर्ने विषयमा पनि दुवै देशबीच सहमति भएको छ । स्थलमार्गबाट तेस्रो देशका नागरिकको आउजाउमा सहजता प्रदान गर्न दुई देशबीच अध्यागमन पोस्ट निर्माण गर्ने, भुटानलाई बंगलादेशसँग व्यापारका लागि हल्दिबारी (पश्चिम बंगाल) बाट चिलाहाटी (बंगलादेश) सम्मको रेलमार्गको प्रयोग गर्न दिने जस्ता महत्त्वपूर्ण सम्झौता दुई देशबीच भएको हो ।

भुटानको १२ औं र १३ औं पञ्चवर्षीय योजनाबीचको अवधिमा भारत सरकारले अतिरिक्त वित्तीय सहयोग जनाउन पनि सहमति प्रदान गरेको छ । भारतले विदेशी राष्ट्रलाई गर्ने वित्तीय सहयोगको ठूलो हिस्सा भुटानलाई गर्दै आएको छ । चालु आर्थिक वर्ष २०२३–२४ को कुल विदेशी वित्तीय सहयोगका लागि भारतले छुट्याएको ५ हजार ४ सय करोड रुपैयाँमध्ये २ हजार ४ सय करोड भारतले भुटानका लागि छुट्याएको छ ।

भुटानी नागरिकलाई गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्न भारतले असमका मेडिकल कलेजहरूमा भुटानका लागि अतिरिक्त एमबीबीएस सिट छुट्याउने प्रतिबद्धता जनाएको छ । त्यस्तै, उच्च शिक्षाका लागि भुटानी विद्यार्थीलाई दिँदै आएको छात्रवृत्तिको संख्या पनि दोब्बर गरिने भएको छ ।

संयुक्त वक्तव्यमा जलविद्युत् सहयोगलाई द्विपक्षीय आर्थिक साझेदारीको महत्त्वपूर्ण स्तम्भ भनिएको छ । जलविद्युत्मा विद्यमान ऊर्जा साझेदारीलाई गैरहाइड्रो नवीकरणीय ऊर्जा, सौर्य र हाइड्रोजन र ई–मोबिलिटीका क्षेत्रमा पनि आवश्यक प्राविधिक र आर्थिक सहयोगको आश्वासन भारतले दिएको छ ।

दुवै पक्षले जलविद्युत् क्षेत्रमा भइरहेको सहकार्यलाई महत्त्वका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतको सहयोगमा निर्माणाधीन १ हजार २० मेगावाटको पुनात्साङछु–२ जलविद्युत् आयोजना २०२४ को प्रारम्भमा सञ्चालनमा आउने अपेक्षा दुवै पक्षले गरेका छन् । दुवै पक्षले एकअर्काको ऊर्जा बजारमा पहुँचका लागि भारती इनर्जी एक्सचेन्जबाट निकासी थालेकोमा त्यसलाई स्वागतसमेत गरेका छन् । ईकान्तिपुर

Facebook Comments Box