भूकम्पप्रभावित क्षेत्रमा कर्णाली सरकारको दुई करोड ४५ लाख, कुन पालिकाले कति पाए?

सेयर गर्नुहोस

कर्णाली : कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई दुई करोड ४५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।

प्रदेश सरकारले जाजरकोटका भेरी र नलगाड नगरपालिका तथा बारेकोट गाउँपालिकालाई २५/२५ लाख रुपैयाँ हस्तान्तरण गरेको हो। यस्तै कुशे गाउँपालिकालाई २० लाख रुपैयाँ, छेडागाड नगरपालिकालाई १० लाखँ, जुनीचाँदे गाउँपालिकालाई १० लाख र शिवालय गाउँपालिकालाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।

त्यसैगरी रुकुम पश्चिमको आठबीसकोट र सानीभेरी नगरपालिकालाई रु २५/२५ लाख, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकालाई रु २०/२० लाख, मुसिकोट नगरपालिकालाई १० लाख र बाँफिकोट गाउँपालिकालाई पाँच लाख रकम हस्तान्तरण गरिएको छ। सल्यानको दार्मा गाउँपालिकालाई रु १५ लाख तथा बागचौर र बनगाड कुपिण्डे नगरपालिकालाई पाँच\पाँच लाख रुपैयाँ हस्तान्तरण गरिएको छ।

भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानमा राहत सामग्री खरिद, वितरण र उद्धार प्रयोजनका लागि स्थानीय तहलाई रकम उपलब्ध गराइएको मन्त्री जिसीले बताए। यही कात्तिक १७ गते राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडामा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको थियो ।

Facebook Comments Box