विश्वकपमा छनोट भएका टोलीका खेलाडीलाई जनही १३ लाख दिन सिफारिस
काठमाडौं : विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा आज बसेको बैठकले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
छनोट प्रतियोगितामा सहभागी १५ खेलाडी तथा मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ।
खेलाडीलाई जनही १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गर्ने निर्णय गरिएको हो।
यही कात्तिक १७ गते मूलपानी क्रिकेट मैदानमा भएको आईईसी टी–२० विश्वकपको एसिया क्षेत्र छनोट सेमिफाइन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले पराजित गर्दै विश्वकपमा स्थान बनाएको थियो।
