पोल्याण्ड पठाउने बहानामा ३८ लाख ठगी, पक्राउ परिन् महिला

सेयर गर्नुहोस

काठमाडौँ : वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट ३८ लाख ठगी गरेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसका लागि प्रतिव्यक्ति आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भनी विश्वास दिलाई ठगी गरेको उजुरीका आधारमा आज पक्राउ गरिएको हो।

काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए।

Facebook Comments Box