नेपाल-भारत सिमामा हरित पर्खाल लगाउन अभियन्ता साहकाे अाग्रह

सेयर गर्नुहोस


वीरगञ्ज । सर्लाहीका युवा तथा कृषि अभियन्ता सन्तोष साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै नेपाल–भारत सीमामा हरित पर्खाल (ग्रिन वाल) लगाउन सुझाव दिनुभएको छ।

साथै उहाँले सो कार्यका लागि आफूलाई अनुमति दिन पनि प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको छ।
शुक्रबार प्रधानमन्त्री ओलीलाई ई–मेल मार्फत् पत्र पठाउँदै साहले भन्नुभएको छ, ‘पूर्वी पहाडदेखि पूर्वी तराई हुँदै पश्चिम तराई र पश्चिम पहाडसम्म गरी करिब १६९० किलोमिटर नेपाल–भारत खुला सिमाना रहेको यहाँलाई विदितै छ। राष्ट्रको स्वाभिमान, सुरक्षा र सीमा मिचिने समस्याबाट पूर्ण रुपले मुक्त हुनका लागि म हरित पर्खाल (ग्रिन वाल) को सुझाव यहाँलाई दिन चाहन्छु। साथै एक जिम्मेवार नेपाली नागरिकको रुपमा यसको जिम्मेवारी लिन पनि तयार रहेको जानकारी गराउन चाहन्छु।’

सरकारको अनुमति र सुरक्षा निकायको साथ पाए सरकार वा अन्य कुनै संघसंस्था वा दातृ निकायको कुनै पनि आर्थिक सहयोग नलिई सीमामा हरित पर्खाल लगाउने साहको योजना छ। यस कार्यका लागि सीमा क्षेत्रमा नै बसोबास गर्ने किसानहरुको सहयोग लिइने उहाँले बताउनुभयो।
‘नेपाल–भारत सीमा रहेको १६९० किलोमिटरमा नै हरित पर्खाल लगाउने अठोट गरेको छु। यो ऐतिहासिक अवसर पाए यो हाम्रो लागि गर्वको विषय हुनेछ,’ उहाँले पत्रमा भन्नुभएको छ।

प्रधानमन्त्री ओलीलाई पठाइएको उक्त पत्रको बोधार्थ गृह र परराष्ट्र मन्त्रालयलाई पनि दिइएको साहले जानकारी दिनुभयो।

Facebook Comments Box