के हो दुर्गा सप्तशती ‘चण्डी’? किन पढिन्छ नवरात्रभर?
नवरात्रमा शक्तिपीठ तथा दशैँघरमा देवीको उपासनाका क्रममा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ। यसलाई बोलीचालीको भाषामा चण्डी पनि भनिन्छ।
मार्कण्डेय पुराणमा भएको ७०० श्लोकयुक्त देवी माहत्म्यलाई नै दुर्गा सप्तशती वा चण्डी भनिन्छ। ७०० श्लोक भएकाले चण्डीलाई ‘सप्तशती’ भनिएको हो। दुर्गासप्तशती मार्कण्डेय ऋषिले भगवती दुर्गाको महिमाबारे बताएका श्लोकको संग्रह हो। यसमा १३ अध्याय छन्।
चण्डी एकै बसाइमा पूरै (७०० श्लोक) पढ्नुपर्ने मान्यता छ। विधिपूर्वक चण्डी पाठ गर्नाले मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। चण्डी पाठ गर्ने दुई विधि शास्त्रमा बताइएका छन्, पौराणिक र तान्त्रिक। विभिन्न कामना लिएर ‘पुटित, ‘सम्पुटित पाठ गर्ने तान्त्रिक परम्परा पनि छ।
चण्डीअघि कवच, अर्गला र कीलकलगायत देवीमाहात्म्य पढ्ने गरिन्छ। अरु दिन नसके पनि महाष्टमी र महानवमीमा मात्रै चण्डी पढ्ने पनि छन्। नवरात्रमा देवीभागवत महापुराण र देवीपुराण पनि पढ्ने परम्परा छ।
के छ चण्डीमा?
स्वारोचिष मनुका छोरा सुरथ नामका राजा आफ्ना शत्रुहरूद्वारा पराजित भई मेधा ऋषिको आश्रममा पुग्छन्। यसैगरी प्रशस्त धनसम्पत्ति भए पनि परिवारबाट अपहेलित भएका समाधि नामका वैश्य पनि त्यहाँ आइपुग्छन्।
दुवै जनाले आफ्ना दुःख निवारण र परिवारको मोह त्याग्न अपनाउनुपर्ने सूत्रबारे जिज्ञासा राख्छन्। मेधा ऋषिले विष्णुकी शक्ति महामाया भगवतीको शरणमा जाने सल्लाह दिन्छन्। ‘जसले सम्पूर्ण चराचर जगत उत्पन्न गरी मुक्ति पनि दिन्छिन्, उनैको शरणमा जाऊ’, उनी भन्छन्।
‘महामाया को हुन्, यिनले कसरी मानिसलाई मुक्ति दिन्छिन्’, भन्ने राजा सुरथको प्रश्नको जवाफमा मेधा ऋषिले भगवती दुर्गाले दुष्ट दानवहरूको विनाश गरी देवताहरूलाई सुखशान्ति दिलाएको प्रसंग सुनाउँछन्।
लोकलाई दुःख दिने महिषासुर, शुम्भ, निशुम्भ, चण्ड–मुण्डलाई देवीले विभिन्न स्वरूप लिई वध गरेको प्रसंग सप्तशतीमा आउँछ। यस क्रममा देवीहरूले लिएका स्वरूप र तिनको वर्णन पनि छ। देवताहरूले गरेको देवीको स्तुति पनि उल्लेख छ।
अन्तिम अध्यायमा यी कथा सुनाई मेधा ऋषिले सुरथ राजा र वैश्यलाई देवीको उपासना गर्न प्रेरित गर्छन्। राजा सुरथ र दुवैले भक्तिपूर्वक देवीको आराधना गर्छन्। यसबाट प्रसन्न भई भगवती दुर्गाले ‘गुमेको राज्य चाँडै पाउने शत्रु सबै नाश भई अर्को जन्ममा सावर्णि नामको मनु हुने’ वरदान दिन्छिन्। देवीले वैश्यलाई पनि मुक्तिका लागि ज्ञान प्राप्त हुने वरदान दिएको उल्लेख छ।
सारमा भगवतीको महिमा र आराधनाको संग्रह नै चण्डी हो।
