कपिलवस्तु जिल्ला सिल, थप ८ सहित २९ संक्रमित पुगे

सेयर गर्नुहोस


कपिलवस्तु ,बैशाख ३० । एक हप्ताभित्र कोरोनाको संक्रमण बढी देखा परेपछि जिल्ला सिलको प्रभाव मंगलबार विहानै देखि परेको ।

अप्रत्याशित रुपमा जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि सोमबार साँझ ५ बजेदेखि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्ला पूर्णरुपमा सिल गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपनि पछिल्ला केहि दिन यता कपिलवस्तुमा उल्लङ्घनका घटनामा बृद्धि भैरहेको थियो । लामो समय देखिको लकडाउनले प्रभाव पारेपछि जिल्लाबासी विस्तारै काममा फर्किएका थिए । तर, सोमबार एकै पटक १६ जनाका कोरोना संक्रमण पुष्टि भएपछि यसको सम्भावित जोखिम न्यूनिकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालयले कपिलवस्तु सिल गरेको थियो ।

जिल्ला सिल भएपछि सदरमुकाम तौलिहवा, चारनम्बर जितपुर, गोरुसिंगे, इमिलिया, चन्द्रौटा, बहादुरगञ्ज, कृष्णनगर, महाराजगञ्ज, पकडी लगायतका मुख्य बजार सुनसान छन भने सवारी साधन पनि पूर्णतया ठप्प छन् ।

यता वाणगंगा नगरपालिकाले जेष्ठ १ गतेसम्मका लागि नगरपालिका सिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले विहान ७ बजे देखि ९ बजेसम्म अति अत्यावश्कीय खाद्यान्न पसल खोल्ने निर्णय गरेपनि वाणगंगाले औषधि बाहेक पसल बन्द गराएको छ । कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि नगर पूर्णरुपमा सिल गराएको नगरपालिकाले जनाएको छ ।

कपिलवस्तुमा मंगलबार सांझसम्म थप ८ जना कोरोना संक्रमित भेटिए पछि संक्रमितको संख्या २९ पुगेको छ भने नेपालमा कुल संक्रमित १३४ भएका छन।

Facebook Comments Box