कोशी प्रदेशको समस्या समाधान भइसक्यो, कार्की गठबन्धनकै मुख्यमन्त्री : प्रधानमन्त्री
भरतपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशको समस्या समाधान भएको बताएका छन्।
शनिबार गृहजिल्ला चितवन आएका प्रधानमन्त्री दाहालले भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कोशी प्रदेशमा मुख्यमन्त्री बनाउने सवालमा गठबन्धनबीच देखिएको समस्या समाधान भइसकेको बताएका हुन्।
“कहिलेकाहीँ गठवन्धभित्रका पार्टीभित्र पनि अलि वादविवाद हुन्छ नै। त्यो वादविवादले गठवन्धनलाई झन् बलियो बनाएर लैजानेछ” पत्रकारको जिज्ञासामा उनले भने, “आज बिहान मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग म आफैँ बैठक बसेर एउटा समझदारी बनाएका छौँ। गठबन्धनलाई बलियो बनाउने कुरामा हामीवीच समझदारी बनेको छ। कुनै पनि हालतमा गठबन्धनलाई कमजोर हुन दिने छैनौँ” उनले भने।
त्यस्तै, कोशी प्रदेशमा नियुक्त भएका केदार गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेको पनि उनले दाबी गरे। साथै उनले मिडियामा जसरी चर्चा परिचर्चा गरिएको थियो वास्तविकतामा त्यस्तो नभएको जिकिर गरे।
कोशी प्रदेशको मुख्यमन्त्रीमा शेखर पक्षका सांसद केदार कार्की नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीलाई नेपाली कांग्रेसका ८ र नेकपा एमालेका ३९ गरी ४७ सांसदको समर्थन छ। यसरी बनेको सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने छ।
