न्युजिल्याण्ड चुनावको प्रारम्भिक नतिजाले क्रिस्टोफर लक्सन प्रधानमन्त्री बन्ने सङ्केत
न्युजिल्याण्डमा शनिबार आम निर्वाचनको मतदान सकिएको छ। अहिले मतगणना जारी छ। प्रारम्भिक नतिजाहरूले जसिन्डा आर्डनको नेतृत्वमा रहेको उदारवादी सरकारको छ वर्षपछि जनताले कट्टरपन्थी परिवर्तनको पक्षमा रुचि देखाएको देखिएको छ।
करिब एकचौथाइ मतगणना भइसक्दा पूर्वव्यवसायी क्रिस्टोफर लक्सन मुलुकको अर्को प्रधानमन्त्री तयारीमा रहेका छन्।
आफूसँग पूरा सरकार चलाउन ‘पर्याप्त क्षमता’ नभएको भन्दै आर्डर्नले अप्रत्याशितरूपमा गत जनवरीमा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।
पछिल्लो निर्वाचन उनले ठूलो मतान्तरले जितेका थिए तर कोभिड–१९ मा लगाइएको प्रतिबन्ध र मुद्रास्फीतिले अर्थतन्त्रलाई खतरामा पारेपछि उनको लोकप्रियता खस्केको थियो।
उनले राजीनामा दिएपछि ४५ वर्षीय क्रिस हिपकिन्स प्रधानमन्त्री बने। उनी यसअघि शिक्षामन्त्रीको जिम्मेबारीमा थिए।
प्रारम्भिक मतगणनाले लक्सनको नेसनल पार्टीले ४० प्रतिशतभन्दा बढी मत हासिल गरेको देखाएको छ। न्युजिल्याण्डको समानुपातिक मतदान प्रणालीअनुसार ५३ वर्षीय लक्सनले स्वतन्त्रतावादी एसीटी पार्टीसँग गठबन्धन गरेर सरकार बनाउने अपेक्षा गरिएको छ।
यसैबीच हिपकिन्सको नेतृत्वमा रहेको लेबर पार्टीले २५ प्रतिशतमात्र मत प्राप्त गरेको छ। गत आम निर्वाचनमा आर्डर्नको नेतृत्वमा प्राप्त गरेको अनुपातमा यो करिब आधा मत हो।
लक्सनले मध्यम आम्दानी गर्नेहरूका लागि कर कटौती गर्ने र अपराधमाथि नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै, हिपकिन्सले ३० वर्षभन्दा कम उमेर समूहका लागि निःशुल्क दन्त सेवा तथा फलफूल र तरकारीको बिक्रीमाथिको कर हटाउने वाचा गरेका छन्।
