अझै केही दिन मौसम धुम्म रहने

सेयर गर्नुहोस

काठमाण्डाै – केही दिनदेखि बादल लागेका कारण मौसम धुम्मिएको छ । तत्काल बादल हट्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

घाम लागेपछि दिउँसोपख आकाश खुले पनि बिहान/बेलुका धुम्म हुने क्रम रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार नेपालमा पश्चिमी वायु भित्रिने क्रममा छ । अहिले मनसुन सकिन लागेको र पश्चिमी वायु बिस्तारै भित्रिने क्रममा रहेकाले पनि आकाश खुल्न नसकेको हो । यो क्रम अझै केही दिन रहनेछ । कतैकतै बदली र वर्षा छ ।

आज बिहान पूर्वका केही ठाउँमा पानी परेको छ । नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँहरु तथा बाँकी प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाण्डौमा आज पनि हिजो/अस्तिकै जस्तो दिउँसो घाम लाग्नेछ । अहिले काठमाण्डौमा पनि बादल लागेको छ । तर पानी भने नपर्ने मौसमविद् झाले बताउनुभयो ।

भोलि पनि देशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी अरु क्षेत्रमा मौसम सामान्यतया सफा नै रहनेछ । असोज अन्तिम हप्तामा पनि मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिसकेको छैन । सामान्यतया अक्टोबर २ तारिखमा मनसुन बाहिरनुपर्नेमा आज अक्टोबर १४ तारिख भइसकेको छ ।

नेपालको पश्चिमी क्षेत्रबाट भने मनसुन बाहिरिसकेको छ । मध्य र पूर्व हुँदै मनसुन बाहिरिने क्रममा छ । यसपालि गएको जेठ ३१ गते मनसुन नेपाल भित्रिएको थियो ।

Facebook Comments Box