२०७४ सालको निर्वाचनमा एमालेलाई लखेट्नेहरु मधेशबाट अहिले आफैँ लखेटिए: ओली
जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा मधेश प्रदेशबाट प्रदेशसभा र प्रतिनिधिसभामा गरी ६० सिट जित्ने गरी तयारी थाल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधबार जनकपुरधाममा पार्टीको मधेश प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिले पनि सिटको हिसाबले एमाले मधेश प्रदेशमा पहिलो पार्टी भए पनि बहुमत नहुँदा प्र्रदेशम सरकार बनाउन नसकिएको बताए । पार्टीले लिएको मिसन २०८४ लाई मध्यनजर गर्दै त्यसको तयारीमा अहिलेदेखि नै लाग्न अध्यक्ष ओलीले निर्देशन दिए । मधेशमा एमालेप्रति सर्वसाधारणको आकर्षण बढिरहेको अध्यक्ष ओलीको भनाइ थियो ।
२०७४ सालको निर्वाचनमा एमालेलाई लखेट्नेहरु अहिले आफैँ लखेटिएकको उनले बताए । ‘मधेशी जनतलाई सधैँ भ्रममा राखियो । तर, अब त्यो भ्रम टुटिसकेको छ । अब मधेशी जनतालाई विकास र समृद्धि चाहिएको छ । त्यो एमाले नेतृत्वको सरकारले मात्रै पूरा गर्न सक्छ,’ उनले भने ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेकै नेतृत्वमा बहुमतको सरकार नबनेसम्म मुलुकमा राजनीतिक स्थिरता नआउने बताए । उनले पार्टीमा गुटउगुट नरहेको बताउँदै प्रदेशको नेतृत्व प्रदेशकै प्रतिनिधिहरुले छनोट गर्नु पर्ने बताए । उनले नेतृत्व चयनमा केन्द्रले कुनै हस्तक्षेप नगर्ने बताए ।
महासचिव शंकर पोखरेलले क्षेत्रीय पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गरिरहे पनि मधेश प्रदेशलाई अस्तव्यस्त बनाएको आरोप लगाए । क्षेत्रीय पार्टीहरू जसपा, लोसपासहितका दलबाट मधेशले विकास र समृद्धि पाउन नसक्ने उनले बताए ।
बुधबारदेखि सुरु भएको प्रदेश अधिवेशन भोलि (बिहीबार) नयाँ नेतृत्व चयन गर्दै सकिनेछ । जनकपुरधामको महेन्द्रनारयण निधि मिथिला सांस्कृतिक केन्द्रमा अधिवेशन भइरहेको छ । अधिवेशनमा १ हजार २७ जना प्रतिनिधि सहभागी छन् । दुई दिने अधिवेशनमा झन्डै ४० लाख रुपैयाँ खर्च हुने मधेश प्रदेश इन्चार्ज एवं सचिव योगेश भट्टराईले बताए ।
