रौतहटमा काठ तस्करी : एक वर्षमा ५० जना पक्राउ, ९५ सवारीसाधन बरामद

सेयर गर्नुहोस

रौतहट : जिल्लास्थित वनमा काठका गोलिया तस्करीको घटना बढ्दै गएको छ। तस्करी बढेसँगै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले गस्ती तीव्र पारेको छ। काठ तस्करी गर्ने तस्करको समूह जिल्लाको वृन्दावन, बनबहुअरी, जुडिबेला , बागमती र गैँडाटारमा सक्रिय भएपछि बन गस्ती बढाएको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

गत आइतबार वन कार्यालको गस्ती टोलीले चार थान काठको गोलिया सहित एक पिकअप भ्यानलाई नियन्त्रणमा लिएको थियो। बा ६ च ४६०२ नम्बरको भ्यानबाट ५६.४४ क्यूफिट काठ बरामद गरिएको थियो। यता एक वर्षको अवधिमा ९५ वटा सवारीसाधनसहित २५ सय भन्दा बढी क्यूफिट काठ बरामद गरेको डिभिजन वन कार्यालय रौतहटको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७९/०८० मा दुई हजार ५ सय ३२ क्युफिट काठ तस्करबाट बरामद गरीएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिलकुमार कर्णले जानकारी दिए। उनका अनुसार एक वर्षको अवधिमा विभिन्न वन क्षेत्रबाट काठ तस्करी गर्दै गर्दा तस्करबाट ती परिमाणमा काठ बरामद गरिएको हो।

यही अवधिमा काठ ढुवानी गर्न प्रयोग भएका आठ वटा पिकअप भ्यान, ३ वटा टयाक्टर, एउटा ट्रक, एक वटा मिनी ट्रक, एउटा स्कार्पियो, ७२ वटा साइकल, पाँच वटा मोटरसाइकल र ४ वटा विद्युतीय रिक्सासहित ९५ वटा सवारी साधन बरामद भएको उनले बताए।

बरामद गरिएका अधिकांश सवारी साधन भारतिय नम्बरको भएको र तस्करले ती सवारीसाधनमा नेपाली नम्बर राखेर चलाउने गरेको पाइएको उनको भनाइ छ। काठ तस्करीमा प्रयोग भएका सवारीसाधनको अबस्था बारेमा यातायात कार्यालयमा पत्रचार समेत गरेकाले सोही अनुसार कारवाही प्रक्रिया अघि बढाउने उनले बताए।

काठ तस्करीमा संलग्न ५० जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाही गरिएको डिभिजन वन प्रमुख कर्णले जानकारी दिए।

Facebook Comments Box