महिला विश्वकपमा आज स्पेन र नेदरल्याण्ड्स भिड्दै
काठमाडौं : फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु हुनेछन्। आज स्पेन र साबिक उपविजेता नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ।
स्पेन र नेदरल्याण्डबीचको खेल बिहान पौने ७ बजे न्युजिल्यान्डको विलिङटनमा सुरु हुने। स्पेन पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स दोस्रोपटक पुगेको हो । तर यी दुई टिम विश्वकपमा पहिलोपटक खेल्न लागेका हुन् । विश्वकपबाहिर यी दुई टिम भेट हुँदा स्पेनको पक्षमा धेरै जित रहेका छन्।
विश्वकपमा ४ पूर्व च्याम्पियनमध्ये अन्तिम ८ मा पुग्ने जापान मात्र एक्लो टोली बनेको छ।
महिला विश्वकपकै सर्वाधिक सफल ४ पटकको विजेता अमेरिका र दोस्रो संस्करणको विजेता नर्वे क्वाटरफाइनलबाटै घर फर्किँदा २ पटकको विजेता जर्मनी समुह चरणनै पार गर्न सकेन।
स्वीट्जरल्याण्डमाथि ५–१ गोलको एकतर्फी जित निकाल्दै स्पेनले अन्तिम ८ मा स्थान पक्का गरेको थियो भने नेदरल्याण्डले दक्षिण अफ्रिका माथि २–० को जित निकाल्दै स्पेनसँगको भेट पक्का गरेको थियो।
आजै हुने अर्को खेलमा जापान र स्वीडेन पौने २ बजे आमने सामने हुनेछन्। एसियाको पावर हाउस जापानले पूर्व च्याम्पियन नर्वेलाई ३–१ गोल हराउँदै अन्तिम १६ बाटै घर पठाएको थियो। ४ पटकको विजेता अमेरिकालाई प्रिक्वाटरफाइनलबाटै घर पठाएको स्वीडेन बलियो दाबेदारका रुपमा रहको छ। यी दुईबीचको खेल निकै रोमाञ्चक हुनेछ।
पहिलो पटक ३२ राष्ट्र समावेश गरिएको यो विश्वकपमा एसियाबाट ६ टोलीको सहभागीता रहँदा जापान र घरेलु टोली अष्ट्रेलियामात्र क्वाटरफाइनल पुगे।
सहआयोजक तथा टापु राष्ट्रहरुको समूह आसियानाबाट एक्लो प्रतिनिधित्व गरेको न्युजिल्याण्ड समूह चरणबाटै बाहिरियो। अहिलेसम्मका संस्करणमा आयोजक राष्ट्रले कम्तीमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका छन्।
दक्षिण अमेरिकाबाट ३ टोली सहभागी भएकोमा कोलम्बियामात्र क्वाटरफाइनलमा पुग्यो। अफ्रिका र अमेरिकी क्षेत्रका टोली प्रिक्वाटरफाइनलबाटै बाहिरिँदा युरोपबाट ५ टोलीले अन्तिम ८ मा स्थान बनाए।
अस्ट्रेलिया र न्युजिल्याण्डका विभिन्न १२ वटा शहरमा खेलाइएको प्रतियोगिताको नवौं संस्करणमा पुरस्कार राशि पनि वृद्धि गरिएको छ। झन्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ। शनिबार अस्ट्रेलिया र फ्रान्स तथा इङ्ग्ल्यान्ड र कोलोम्बियाबीच खेल हुनेछ। १५ अगस्टमा पहिलो र १६ अगस्टमा दोस्रो सेमिफाइनल हुनेछ।
त्यस्तै, १९ अगस्टमा तेस्रो स्थानको लागि तथा २० अगस्टमा फाइनल हुनेछ। २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो। न् १९९१ देखि सुरु महिला विश्वकपमा सन् २०११ सम्म १६ टिम मात्र सहभागी थिए। चार वर्ष अगाडि फ्रान्समा भएको प्रतियोगितामा टिमको संख्या २४ पुगेको थियो।
