सुन तस्करी प्रकरण : उच्चस्तरीय समिति गठन गर्न प्रचण्डले मानेनन्
काठमाडौं : सरकारले सुन तस्करी काण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न अस्वीकार गरेको छ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष तीन दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय छानबिन समिति गठन गर्न अस्वीकार गरेका हुन्।
बैठकमा उनले एक क्विन्टल सुन प्रकरणमा अनुसन्धानको जिम्मा सिआइबीलाई दिइएको र उक्त अनुसन्धान सकिएपछि आवश्यक परे छानबिन समिति गठन गर्ने बताएका थिए।
बैठकमा प्रधानमन्त्री प्रचण्डले सुनको विषयमा केन्द्रीय अनुसन्धान ब्यूरोले आफ्नो काम गरिरहेको र यसले जरोसम्म पुग्ने भएकाले त्यसपछि मात्रै कदम चालिने बताएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। तर, एमालेले यो विषयमा सहमत नभएको उनले बताए।
‘सिआइबीले एक चरण अनुसन्धान गरेर जरोसम्म पुग्छ। त्यतिञ्जेल पर्खिनुस्। त्यसपछि पुगेन भने देशमा भ्रष्टाचार रोक्न आयोग बनाउनुपर्छ कि के गर्नुपर्छ सरकार तयार छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ पाण्डेले भने।
एमालेले भने गृहमन्त्रीको जवाफ सुन्ने तर, छानबिन समिति गठनबाट पछि नहटेको बताएको छ।
‘हामी अहिले गृहमन्त्रीको जवाफ सुन्छौं। तर, हाम्रो कुरा छानबिन समिति गठनबाट पछि हटेका छैनौं,’ एमाले सचेक महेश बर्तौलाले भने।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित थिए।
